खोप खबर: कहाँ कहाँ लगाईंदैछ भेरोसेलको दोस्रो खोप,पहिलो डोजको कार्ड अनिवार्य

२०७८ असार २२ मंगलबार १०:०९:०० मा प्रकाशित

काठमाडौं । कोभिड विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई आजदेखि दोस्रो डोज लगाइँदैछ ।

गत जेठमा पहिलो डोज लगाएकालाई आजदेखि दोस्रो डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ७० हजार नागरिकलाई जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो डोज दिइएको थियो । अग्रपंक्तिमा लड्नेहरुलाई पनि दोस्रो डोज दिइएको थियो ।

भेरोसेलको पहिलो डोज लगाएकालाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट दोस्रो डोज दिँइदैछ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका अनुसार कोभिड खोपको दोस्रोडोज लगाउन काठमाडौंमा ३२ वटा केन्द्र तोकिएको छ ।

काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न ठाउँका खोप केन्द्रबाट खोप दिइने मन्त्रालयले जनाएको छ ।

काठमाडौं महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ । अरु ठाउँमा पनि स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ । भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने ठाउँमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ । खोप लगाउनका लागि पहिलो डोजको खोप लगाएको कार्ड साथमा लिएर जानुपर्नेछ ।

भक्तपुरमा सुर्यबिनायक नगरपालिकामा १०, मध्यपुर थिमी नगरपालिकामा ९, भक्तपुर नगरपालिकामा १० र चाँगुनारायण नगरपालिकामा ९ गरि कुल ३८ केन्द्रबाट भेरोसेल खोपको दोस्रो डोज दिइनेछ ।

ललितपुर महानगरमा भने असार २५ र २६ गते मा भेरोसेलको दोस्रो डोज दिइनेछ । ललितपुर महानगरपालिकामा २० वटा, महालक्ष्मी नगरपलिकामा १०, गोदावरी नगरपालिकामा १०, कोन्ज्योसोन गाउँपालिका, वाग्मती गाउँपालिका र माहाकाल गाउँपालिकामा भने २–३ ठाउँलाई केन्द्र तोकिएको छ ।

ताजा खबर