युरोकप सेमीफाईनल: आज सातौं पटक भिड्दै छन् बलिया प्रतिष्पर्धी इटाली र स्पेन

२०७८ असार २२ मंगलबार ०९:३२:०० मा प्रकाशित

काठमाडौं । युरोकप २०२० मा आजबाट सेमीफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमीफाइनलमा उपाधी दावेदार टिम इटाली र स्पेन आमनेसामने हुनेछन् ।

युरोपियन च्याम्पियनसिपको नक आउटमा यी दुइ टिम लगातार चौथो पटक भिड्दैछन् । सन् २००८ को क्वाटरफाइनलमा स्पेनले इटालीलाई पेनाल्टी  सुटआउटमा ४–२ ले पराजित गरेको थियो । स्पेन सो संस्करणको च्याम्पियन हो । यस्तै २०१२ मा पनि इटालीलाई ४–० गोलले हराएर स्पेनले उपाधी रक्षा गरेको थियो । २०१६ मा भने इटालीले ती दुवै हारको बदला लिएको थियो । स्पेन अन्तिम १६ मा इटालीसँग २–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । समग्रमा भने युरोकपमा इटाली र स्पेन सातांै पटक खेल्दैछन् ।

स्पेनले क्वाटरफाइनलमा स्वीटजरल्यान्डलाई पेनाल्टीमा पराजित गरेको थियो । इटालीले बेल्जियम माथि दुइ एक गोलको जीत हात पारेको थियो ।

वेम्लीमा हुने यो खेल नेपाली समय अनुसार राती पौने १ बजे सुरु हुनेछ । तर यो खेलमा दुवै टिमका समर्थकको उपस्थिति भने एकदमै न्युन रहने छ । बेलायतमा कोभिड १९ का कारण क्वोरिन्टन बस्नुपर्ने नियमका कारण समर्थक आउन नसकेका हुन् । वेम्बली स्टेडियमको दर्शक क्षमता ६० हजार हो । तर इटालिनय फुटवल महासंघका अनुसार जम्मा उसले जम्मा १ सय २५ टिकट पाएको छ । प्रशिक्षक रोबर्टो मान्सिनीले इटाली र स्पेनका समर्थक नहुनु अनुचित भएको बताए । तर उनले थोरै भन्दा धेरै मानिसहरु बीच खेल्नु उपयुक्त हुने प्रतिृकया दिए ।

स्पेनिस प्रशिक्षक लुइस इनरिकेले बेलायतमा बसोबास गर्ने इटालियन र स्पेनिस नागरिक खेल हेर्न आउने विश्वास ब्यक्त गरेका छन् ।  

इटाली जारी युरोमा उत्कृष्ट देखिएको छ । मान्सिनीको टोली ३२ खेल देखि अपराजित छ । उसले लगातार १३ खेलमा जीत हात पारेको छ । रुस विश्वकपमा छनोट हुन असफल भएको इटाली युरो सुरु हुनु भन्दा अघिसम्म उपाधीको दावेदार थिएन् । तर उसले जारी युरोमा अहिलेसम्म खेलेका पाँच खेलमा नै जीत हात पारेको छ । इटालीले यसअघि मात्र एक पटक १९६८ मा युरो उपाधी जितेको थियो । स्पेन पछिल्लो चार संस्करणमा तेस्रो उपाधी जित्ने लक्ष्यमा छ । यो खेलको विजेताले इङल्यान्ड र डेनमार्क बीचको विजेतासँग उपाधीका लागि खेल्नेछ । 

ताजा खबर