दार्जिलिङ हराएको सूचना!

२०७८ असार २१ सोमबार ०९:३७:०० मा प्रकाशित

दार्जिलिङमै छु अहिले म। तर दार्जिलिङमै बसेर पनि दार्जिलिङ पाइनँ। भेटिनँ कतै। अहिले म सुपर मार्केट अघिल्तिर दार्जिलिङ–सिलिगुड़ी पिजु स्ट्याण्डको टिकट काउण्टरभित्र बसेर दार्जिलिङ खोजिरहेछु एक तमासले। कहिले हस्पिटलमाथिबाट जुलुस बग्दै आएर थानातिर जान्छ। कहिले कचहरीबाट जुलुस बग्दै आएर हस्पिटल उकालो लाग्छ। जिन्दावादका नारा मोटर स्ट्याण्डभरी रुमलिन्छ। म आफू कविता लेख्ने मान्छे। मेरा आँखाले दार्जिलिङ खोजिरहेछ। जुलुस भट्याउनेको आरिस र देखासिकी गरी सडकबीचमै यसरी कविता फलाक्न थालेंछु–

 

दार्जिलिङ.. ओ.. दार्जिलिङ
मेरी हृदयेश्वरी दार्जिलिङ
गल्ली, गल्ली, कुना काप्चामा खोजेँ
जुलससको चेप चेपमा खोजेँ
बाटाघाटामा खोजेँ, उकाली ओरालीमा खोजेँ
पोष्टर भित्तामा खोजेँ, गिताङ्गे डाँड़ामा खोजेँ
पहाड कन्दरामा खोजेँ, धारामा खोजेँ
खोल्सामा खोजेँ, झोड़मा खोजेँ
म्युनिसिपल्टीको डस्टबिनमा खोजेँ
ब्यूटी पार्लरहरूभित्र खोजेँ, रेस्टुराँ, क्याफेमा खोजेँ
कलेटी परेका आँखाहरूमा खोजेँ
पहिरो गएका ठाउँहरूतिर खोजें
घाइते मुटुभित्र खोजेँ...दार्जिलिङ।

 

तिमी हराएकी कुरा सबैलाई सोधेँ
जुलुस भट्याउनेहरूलाई सोधेँ
तिर्तिर् सिटी फुक्ने ट्राफिक पुलिसलाई सोधेँ
तिमी हराएको सूचना सबैलाई सुनाएँ
तिम्रो सुइँको कतै पाइऩँ
थाना कचहरी पुलिस पोष्ट पोष्टमा सोधेँ
निमुखा छलकपटविहीन मान्छेका अनुहारको
मानचित्रमा खोजेँ, उनीहरूको भूगोलमा खोजेँ
स्कूलेहरूका स्कूल ब्याग ब्यागमा खोतलेर हेरेँ
कलेजियनहरूका खाता किताबका चेपचेपमा खोजेँ
भारी भोक्ने भरिया दाइको दाइहरूको
पटुकामा खोतली खोतली खोजेँ
सीआरपीको बुटभित्र खोजेँ
खुकुरीको दापभित्र खोजेँ
बन्द कमानतिर धुइँपताल लाएर
हत्तु हैरान भएर खोजेँ
खबर तिम्रो कतै पाइनँ
कसैले तिमीबारे केही भन्ने मनै गरेनन्
दार्जिलिङभित्र दार्जिलिङ हराएकी पाएँ।

दार्जिलिङभित्रै दार्जिलिङ हराएकी सूचना सार्वजनिक गर्नुपर्दा आफैंलाई हुनसम्मको कुरीकुरी लाग्यो। दार्जिलिङमा बसेर दार्जिलिङ हराएकी कुरा गरेको सुन्नेले मलाई अर्द्धसिल्ली ठान्लान् वा भन्लान्। ठानुन् वा भनुन्। भन्नेको मुख कसले थुन्ने?

दार्जिलिङलाई लाहुरे माया चाउरे प्रीति लाउनेहरूले मनगढ़न्ते सूचना दिने दिने यो अर्द्घसिल्ली कृषलाई हेनतेन प्रश्न गरेर  केरकार पार्लान् हो। दार्जिलिङे भाषामा भन्नु हो भने, ‘यो हरिलट्ठकले हावा पिट्यो’ भन्लान् हो वा दार्जिलिङ्कै भाषामा ‘यो मूलाले बीटी (बिग टक) दिएको पनि भन्लान्।

पर्वाह छैन। लुतो कनाइ केही छैन। यहाँका नेताहरूले अपत्यारिला कुराहरू गर्दा, आफ्नै जनता जनार्दनलाई ढुक्कैले हावा पिट्दा, बिग टक गर्दा त आजसम्म कसैले ती ढट्टु नेताहरूलाई केरकार गर्न सकेका छैनन् भने, कसैले कैफियत माग्ने आँटै गरेका छैनन् भने म एकदिने पाहुनालाई के को केरकार, के को कैफियत होइन र?

 

बकम्फुसे सूचना सार्वजनिक गर्दा मलाई चेपारोमा पार्ने प्रयास पनि गर्लान् हो कत्ति कत्तिले। खै ढाँटेको कुरो पनि पत्याउन लाउने नेताहरूलाई आजसम्म दार्जिलिङ वीर पुरूष वा वीराङ्गणाहरूले चेपारोमा पार्न सकेका छैनन् भने यो बाहिरबाट आएको मधिसेलाई किन के भनेर कुन मुखले, कुन आँटले चेपारोमा पार्लान्? तर हजूर, यो सत्य हो– दार्जिलिङभित्रै दार्जिलिङ हराएकी छ... पक्कै हराएकी छ।

म अहिले दार्जिलिङ–सिलिगुड़ी पिजु स्ट्याण्डमा एउटा पिजुभित्र बसेर रमिता हेर्दैछु। गाडीमा सिलिगुडी जाने यात्री एक एकजना गर्दै भरिँदैछन्। मेरो दाहिनेपट्टि र देब्रेपट्टिका पिजुमा यात्रुहरू भरिसकेका छन्।

गाड़ी गुडेको छैन। क्षण क्षणमै किसिम बेच्नेहरू आएर वाक्कै र दिक्कै पार्दारहेछन्। कोही तित्यौरा, कोही बदम, कोही नरिवल, कोही चना चटपटे का कोही मोजा आदि आदि बेच्न आउँदा रहेछन्।

अर्कोले तुरुन्तै जवाफ दिेएको पनि सुनेँ, ‘तँलाई थाहा छैन? केटीहरूले अहिल्यैदेखि नै अमिलो मन पराएको चाहिँ प्र्याक्टिस गरेको नि अमिलो खाने... पछि अमिलो खानु सजिलो पर्छ भनेर।’

उनीहरूको कुराको अर्थ आरम्भमा केही बुझिनँ । तर श्रीमती दुई जीउकी हुँदा मलाई तित्तिरी ल्याइमागेको कुरा झट्ट स्मरण भयो। अनि पो बुझे यी भाइको कुरा। तर ती युवतीहरूले मुख मिठाउँदै तित्यौरा खाएका देख्दा मेरो मुखभरी थुक आयो। मैले घुटक् घुटुक् थुक निलेको ती क्लिनर भाइले देखेछन्, हतार हतार तित्यौरा बेच्नेलाई बोलाएर मलाई दुइ पाकिट तित्यौरा किनिदिए।

तित्यौरा खाँदै तित्यौरा बेच्नेसित गफ गरेँ। तित्यौरा बेच्ने ठिटोको नाम रामलखन रहेछ। ठिटो रामलखनले सिजनमा खाई खर्च सबै काटकुट पारी, महाजनको तिरोतारो गरेर पनि प्रतिदिन सयदेखि डेढ सय रुपैयाँ जोहो गर्दोरहेछ।

दार्जिलिङ मोटर स्ट्याण्डले प्रतिदिन बग्रेल्तै बेरोजगार रामलखनहरूका निमित्त रोजगारको व्यवस्था गरेको देख्दा यी ठिटाहरूप्रति सहानुभूति पलाए पनि हाम्रो बेरोजगार ठिटाहरू हिङ नभए पनि हिङको टालैका रुपमा पनि नदेख्दा सामान्य मन कुँड़ियो।

अचम्म त केमा लाग्यो भने, दार्जिलिङ बजारभरि किसिम चिजबिज, खानेकुरा, अण्डा, चिया बिक्री गरेर बेरोजगार समस्यादेखि मुक्त हुन चाहने रामलखन, पङ्कज, दिनेश, चन्दन, कुश्वेश्वर, महादेवहरू गाउँ गाउँ गई सब्जी, माछा, फलफूल, दही, कपड़ा आदि बिक्री गर्नेहरूमध्ये एकैजना पनि रेथाने वा भूमिपुत्रहरू देखिनँ।

यसको अर्थ दार्जिलिङका रैथाने वा भूमिपुत्रहरू जत्ति सबै हाइली क्वालिफाइडका साथै बेरोजगारमुक्त रहेछन् भन्ने कुरामा मलाई सामान्य सञ्चो भयो। तर असम्भव। आज दार्जिलिङ साँच्चै बेरोजगारमुक्त हुँदो हो त यहाँका रैथाने वा भूमिपुत्र युवा युवतीहरूले दार्जिलिङलाई हङकङ, मलाया, सिङ्गापुर, दुबई बनाइसक्थे।

मधेशबाट यहाँ आएर यी ठिटाहरूले तित्यौरा, चना चटपटे, अण्डा, पिरो मुरी, आइसक्रिम, बदम, माछा बेचे जस्तै हाम्रा भूमिपुत्रहरूले यिनै कुराहरू बिक्री गर्दा हुन्न र? हाम्रो यी रैथाने बेरोजगार युवाहरूले यी मधिसे युवाहरूले झैं चिजबिज बिक्री गरे दार्जिलिङ सामान्य भए पनि बेरोजगारको गह्रौ भारले थिचिएर उकुसमुकुस हुने थिएन अवश्यै पनि।

 

 

तित्यौरा आदि बेच्नेहरूले दार्जिलिङमा बिल्डिङ ठहराइसकेका छन्  भने चना चटपटे बेच्नेहरू भटभटेमा हिँड़्न थालेका छन्।  बदम बेच्नेहरू, कफी बेच्नेहरू ठाँटबाटले हिँड्ने भइसकेका छन्।

सुदूर गाउँबाट आफ्ना मामा, काकासित आई सामान्य व्यापार गर्न थाल्छन् तर हाम्रा रैथाने वा भूमिपुत्र बेरोजगार युवाहरूलाई बजारबीचमा अण्डा, फकुण्डो आदि बेच्न कस्तो लाज लाग्दोरहेछ

ड्रग्स खाएर बजारबीचमा धरफरिँदै हिँड़्न भने किन लाज नलागेको भन्ने प्रश्नले मलाई कोपरिरह्यो। पराइहरू सियो बनी पसी फाली बनी निस्कन्छन् भने हाम्राहरू बञ्चरो काटी सियोको व्यापार गर्छन् अनि अन्त्यमा धोती न टोपी हुन्छन्। धोती र बाँदरे टोपी लाएर दार्जिलङ पस्नेहरू टाई सुटमा हुन्छन्। धोती न टोपी हुनेहरूलाई भूमिपुत्र भन्न मिल्दैन।

 

जन्तु जनावरले धोती लाउँदैनन् न टोपी नै। भूमिपुत्र र जनावरमाझ फरक नै के रह्यो र? निकट भविष्यमा यसरी अन्य ठाउँबाट आउनेहरूले हाम्रो दार्जिलिङ ढाक्लान् (अहिले नै ढाकिसकेका छन्), ढलीमली पनि उनीहरूकै भएपछि (व्यापारमा गरिसकेका छन्)।

हाम्रा भूमिपुत्रहरू दार्जिलिङदेखि हराउँदै जाने? सबै विदेशै ताक्ने? हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, बन साङ्लोले घर साङ्लोलाई उठीवास लाउँदैन भन्न सकिन्न।

दार्जिलिङे भूमिपुत्रहरू लाजको भुँवरीमा परेर जीवनदेखि हराउनु खोजेका देख्दा दार्जिलिङभित्र दार्जिलिङ क्रमशः क्रमशः हराइरहेकी देखिरहेछु। पत्याउनुहोस् वा नपत्याउनुहोस्, दार्जिलिङभित्र दार्जिलिङ साँच्चै हराएकी छ। पत्याउनुहुन्न भने खै कहाँ छे दार्जिलिङभित्र दार्जिलिङ? पत्याउनुहुन्छ भने खै कहाँ छे दार्जिलिङभित्र दार्जिलिङ? लु देखाउनुहोस् त...

उहिले...
नेप्टी चेप्टी दार्जीलिङ कस्तो छ
आऊ हाम्री नेप्टी आऊ हाम्री चेप्टी
दार्जीलिङ घुम्न जाऔँ
जान त जाउँला पहिले यो भन दार्जलिङ कस्तो छ?
झिलि र मिलि बिजुली बत्ती इन्द्रासन जस्तो छ।
(दलसिंह गहतराज)

अहिले...
नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ
राजनीतिको खानी, बन्दकी रानी
स्वीजरल्याण्डजस्तो छ।
नेप्टे चेप्टे दार्जिलिङ कस्तो छ
नेताहरूको जयजयकार छ
सौन्दर्यका खानी पानीको हाहाकार छ।
ढाँटेको कुरा पनि पत्याउने शहर
बातैपिच्छे झण्डी साट्ने रहर
दार्जिलिङभित्र दार्जिलिङै हराएजस्तो छ। 

 (सिलिगुडीका कवि कृष्ण प्रधानको यो व्यंग चेत विश्लेषण nepaltouch.com बाट लिईएको हो ।)

 

 

ताजा खबर