तामाकोशीको उत्पादन सुरु: राष्ट्रिय प्रशारणमा ७६ मेगावाट बिजुली थपिँद

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ ।
कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाले पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्न लागेको हो । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नेछन्।
आयोजनाले आइतबार विद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलव २ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
जिआइएससमेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो । आजदेखि भने ती उपकरणलाई लोडमा चलाइने छ । आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ ।
माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली न्यू खिम्ती सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोड्ने काम असार १३ देखि असार १९ सम्म सकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २ सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोडिएको छ ।
आयोजनाले यही असार मसान्तभित्रै १ सय ५२ मेगावाट बिजुली उत्पादन गर्ने बताईएको छ ।