२९ वर्षपछि सेमीफाइनल पुगेको डेनमार्कको अगाडि चुनौति नै चुनौति

२०७८ असार २० आइतबार १०:१५:०० मा प्रकाशित

काठमाडौं । डेनमार्क २९ वर्षपछि युरोकपको सेमीफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अजरबैजानस्थित बाकु ओलम्पिक स्टेडियममा डेनमार्कले खेल सुरु भएको पाँचौ मिनेटमै अग्रता लिएको थियो । स्ट्राइगर लारसेनको कर्नरमा थोमस डिलाइनीले हेडर गोल गरेका थिए । सुरुदेखि नै उत्कृष्ट देखिएको डेनमार्कले पहिलो हाफमै चेक विरुद्ध दोस्रो गोल थप्यो । ४२ औं मिनेटमा कास्पर डोलबर्गले यानिक मेहिलको पासमा गोल गरेका हुन् । दोस्रो हाफको सुरुवातमा चेकले डेनमार्क माथि दवाव बनाउँदै गोल फर्कायो । ४९ औं मिनेटमा पेट्रिक सिकले गोल गरे । जारी युरोमा उनको यो पाँचौ गोल हो । उनले क्रिस्टियानो रोनाल्डोसँग गोल संख्या बराबरी गरे ।

अन्तिम १६ बाट बाहिरिएको पोर्चुगलका लागि रोनाल्डोले पनि पाँच गोल नै गरेका थिए । बाँकी समयमा आफ्नो अग्रता जोगाउँदै डेनमार्कले अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

यसअघि डेनमार्क सन् १९९२ मा सेमीफाइनल पुगेको थियो । डेनमार्कले त्यसवेला उपाधी नै जितेको थियो । यस्तै डेनिस टिमले चेकसँग २००४ को युरो क्वाटरफाइनलमा बेहोरेको हारको बदला पनि लियो । युरोकपको आफ्नो पहिलो खेलमै स्ट्राइकर क्रिस्टियन एरिक्सनलाई गुमाएपछि डेनिस टिमले यति लामो यात्रा तय गर्छ भन्ने कमैले अनुमान गरेका थिए । फिनल्यान्ड विरुद्धको खेलमा एरिक्सनलाइ ४१ औं मिनेटमा कार्डियाक अरेस्ट भएको थियो । सो खेल उसले एक शून्यले हार्यो । दोस्रो खेलमा बेल्ज्यिमसँग पराजित भयो । तर उसले अन्तिम खेलमा रुस माथि चार एक गोलको शानदार जीतका साथ नकआउट चरणमा स्थान बनायो ।

एरिक्सनको घटना पछि टिम भावनात्मक रुपमा पनि मजबुत भएको प्रशिक्षक कास्पर हुलमन्डको भनाइ छ । युरो इतिहासमा सुरुवाती दुइ खेल हारेर पनि सेमीफाइनल पुग्ने डेनमार्क पहिलो टोली हो । उसले यो सफलताका लागि २९ वर्ष प्रतिक्षा गर्यो । डेनमार्क अब उपाधी नजिक पुग्नबाट मात्र ९० मिनेटले पछि छ । 

ताजा खबर