महाधिवेशनमा कांग्रेस, प्रधानमन्त्री बन्ने दाउमा देउवा

२०७८ असार २० आइतबार ०९:५८:०० मा प्रकाशित

यतिबेला नेपाली कांग्रेस चौधौं महाधिवेशनको चटारोमा छ । सभापति शेरबहादुर देउवाले संवैधानिक बाध्यतालाई दृष्टिगत गर्दै, कार्यसमितिको सहमतिमा महाधिवेशनको मिति तोकी सकेकाछन् – भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म । यही मितिमा महाधिवेशन हुन्छ कि हुँदैन ? अहिले पनि केही भन्न सकिन्न । अहिलेको अवस्थामा पार्टी सभापति देउवा अरु राजनीतिक कार्यमा ब्यस्त छन् । उनी यतिबेला प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सरकारको प्रतिगमनका बिरुध्द खडा भएको पाँच दलीय गठबन्धनका मुख्य नेता हुन् । प्रधानमन्त्री ओलीले सिफारिश गरेको प्रतिनिधिसभा बिघटन सर्वोच्च अदालतबाट बदर हुने बित्तिकै सभापति देउवाको काँधमा प्रधानमन्त्रीको ठूलो जिम्मेवारी आउने सम्भावना रहेको छ । कदाचित सभापति देउवा प्रधानमन्त्री नियुक्त भएभने महाधिवेशन अर्को मितिका लागि स्थगित हुने सम्भावना पनि त्यत्तिकै रहेको छ । यता, महाधिवेशनका मुख्य कार्यहरु अझै सकिएको छैन ।

महाधिवेशनको मुख्य काम सदस्यहरुको नामावलीको प्रमाणीकरण हो । यो मामिला सल्टाउन भर्खरै नेताहरु खटिएका छन् । देशका अग्रणी बिद्वानहरुले यो पटक महाधिवेशनका लागि कांग्रेसका थुप्रै एजेण्डा भएको अन्दाज गरेका छन् । तर, कांग्रेस नेताहरुको टेबुलमा अहिलेसम्म त्यस्तो कुनै एजेण्डाको फाइल देखिएको छैन । अहिलेका लागि महाधिवेशनको एकमात्र एजेण्डा सभापति तथा पदाधिकारीहरुको चुनाव नै हो । सभापति देउवाले केही दिनअघि कांग्रेस सभापतिको पदमा आफ्नो बिकल्प कोही नदेखिएकोले दोस्रोपटक पनि आफैं चुनाव लड्ने घोषणा गरेका थिए । त्यसको प्रत्युत्तरमा उप–सभापति बिमलेन्द्र निधिले ‘तेह्रौं महाधिवेशनको लगत्तै चौधौं महाधिवेशनमा आफूले सभापति पदको चुनाव लडने’ घोषणा गरेको कुरा सभापति देउवालाई सम्झाएका थिए ।

मधेश–पहाड एकता र धर्म–निरपेक्षताका पक्षधर निधि सभापति पदका लागि कस्सिएर सक्रिय भएका छन् । सभापति देउवालाई बिमलेन्द्रको उम्मेदवारी निकै बलियो धक्काका रुपमा आएको बताइन्छ । बिमलेन्द्रले शशांक र प्रकाशमानसँग जोडी मिलाएर राजनीतिक विरासतका बीच एकताको सम्भावना पनि खोजेका छन् । उनको उम्मेदवारीले यो पटकको चुनाव अलगखालको र केही हदसम्म आक्रामक हुने संकेत आएको छ । मानिसमा ‘कांग्रेसी चुनावको रस’ अलिकति बस्न थालेको छ । सभापति बाहेक अन्य पदाधिकारीमा चुनाव लड्न समेत नयाँ अनुहार जमजमाएको देखिने सम्भावना बढेको छ । तर वरिष्ठको लोकप्रियता मात्रै कांग्रेसको चुनाव जित्न पर्याप्त छैन । अहिलेको जमानामा त्याग र तपस्याका कुरा दन्त्यकथा भै सकेका छन्।

नयाँ जमानासँग निकट रहेका प्रकाशमान सिंहले पनि आफूलाई कांग्रेस सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् । सर्वमान्य नेता गणेशमान सिंहका सुपुत्रका रुपमा प्रकाशमानप्रति जनताको आकर्षण नरहेको होइन । तर, चुनावमा भावनात्मक आकर्षणले खासै अर्थ राख्दैन । त्यसका लागि पर्याप्त योगदान आवश्यक हुन्छ । पार्टी संगठनमा प्रकाशमान सिंहको अलग योगदान होला । त्यसैले पनि, प्रकाशमान सिंह सभापतिको उम्मेदवार हुनु स्वाभाविक हो । उनी अहिले सभापति नभए कहिले हुने रु यो महत्वपूर्ण प्रश्न हो । नेपाली कांग्रेसको पूरै जीवनमा अत्यधिक महत्व राख्ने कोइराला परिवारका तीन सदस्यले कांग्रेस सभापति पदमा निर्वाचन लड्ने आकांक्षा राखेका छन् ।

हाल निर्वाचित महामन्त्रीका रुपमा कार्यरत डा शशांक कोइरालाले पार्टी सभापतिको चुनाव लड्ने कुरा धेरै अघि देखि बताउँदै आएका हुन् । उनी नेपाललाई हिन्दू राष्ट्र बनाउने वा नवनाउने कुरामा जनमत संग्रह गराउनुपर्ने बिचार राख्दछन् । तर, धार्मिक स्वतन्त्रतालाई आफ्नो अभीष्ट मान्दछन् । बीपी कोइरालाका कान्छा सुपुत्र शशांकमा राजनीतिक समझ र सूझबूझ नभएको होइन । नेपाली कांग्रेसजस्तो राजनीतिक संगठनलाई कसरी आधुनिक हिसावले रुपान्तरित गर्न सकिन्छ रु त्यसबारे बिचार गर्नुपर्ने दायित्वबाट उनी पन्छिन चाहँदैनन् ।

नेपाली कांग्रेसको तेह्रों महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रिय सदस्य चुनिएका शेखर कोइराला चौधौं महाधिवेशनमा सभापति पदको प्रवल दावेदार बनेका छन् । उनले बिगत पाँच बर्षको समयमा अनेक पटक जिल्ला भ्रमण गरेर कांग्रेसीहरुको नाडी छामेका छन् । कालाजर रोगका बिशेषज्ञ डा शेखर कोइराला निर्वाचनबाट पछि हट्ने मनस्थितिमा देखिँदैनन् । सुजाता कोइराला पनि कांग्रेसको पहिलो महिला सभापति बन्न चुनावमा उत्रिन चाहन्छिन् । सभापतिका अर्का उम्मेदवार महोत्तरीका कल्याण गुरुंग पनि हुन् । रामचन्द्र पौडेल तथा कृष्ण सिटौला दुबै नेताहरु यो पटक आफैं ‘किंग’ बन्ने हुन् कि ‘किंगमेकर त्यो स्पष्ट हुनसकेको छैन । (वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली कांग्रेसको महाधिवेशनबारे गरेको विश्लेषण ejanakpurtoday.com मा प्रकाशित छ।)

ताजा खबर