‘प्रत्यक्ष कार्यक्रममा पत्रकारको चरित्र हत्या भएकोमा सर्वत्र निन्दा’

२०७८ असार १९ शनिबार ११:२३:०० मा प्रकाशित


काठमाडौं । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल ईन्जा ग्लोवलले गत आइतवार एउटा प्रत्यक्ष कार्यक्रमका क्रममा पेरिसबासी पत्रकार अनुराधा पौडेलमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ । एनआरएनए अन्तर्गतको संस्कृति तथा सम्पदा उपसमितिद्वारा गत आइतबार युरोपमा आयोजित 'एनआरएन द सिंग' कार्यक्रमबारे जानकारी गराउन भर्चुअल पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार पौडेल एनआरएनए मिडिया तथा मूल आयोजक समिति प्रचार प्रसार बिभागकी सहअध्यक्ष हुन् ।

कार्यक्रम चलिरहँदा एनआरएनका आइसीसी सदस्य प्रेम पोमुले पत्रकार पौडेललाई गालीगलौज गर्न शुरु गरेका थिए । इन्जा ग्लोवलले प्रत्यक्ष चलीरहेको कार्यक्रममा कुनै महिला पत्रकारमाथि भएको दुर्ब्यवहार सामान्य नभएको जनाएको छ । इन्जाले पमुलाई एनआरएनए आइसीसी सदस्यबाट निलम्बन गरी क्षमा याचना गर्न एनआरएनसँग माग गरेको छ । जर्मनीको ह्याम्वर्ग शहरमा बसोबास गर्ने प्रेम पमु यसअघि त्यहाँका जातिय संस्थाहरुसँग आवद्ध थिए । 

जर्मनीका उद्यमी कुमार पन्त एनआरएनको पछिल्लो महाधिवेशनमा निर्वाचित भएपछि पन्तले नै प्रेम पमुलाई आइसीसी सदस्यमा मनोनित गरेका हुन् । इन्जाले महिला पत्रकार माथि एनआरएनको कार्यक्रममा यसरी दुर्ब्यवहार हुँदा पनि एनआरएन केन्द्र मौन रहनु उदेकलाग्दो भएको जनाएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ युरोपकी अध्यक्ष सरस्वती कार्कीले एक विज्ञप्ती जारी गर्दै पमुलाई अविलम्ब कारवाही गर्न एनआरएन केन्द्रसँग माग गरेकी छन् । उनले भनेकी छन्- एकजना महिलालाई सार्वजनिक कार्यक्रमा अश्लिल र चारीत्रिक गाली गर्ने ब्यक्ति कसरी ८० लाख नेपालीहरुको छाता संगठन एनआरएनको केन्द्रिय सदस्य रहन सक्दछ ?

महासंघ बेलायतका अध्यक्ष विपिन निरौलाले एनआरएन आइसीसीप्रति खेद ब्यक्त गरेका छन् । 'यस्ता ब्यक्तिलाई संस्थामा राखिरहनु भनेको महिलाहरुप्रति तपाईंहरुको सोच सार्वजनिक हुनु हो, सोच बदल्नुहोस् पमुलाई कारवाही अगाडि बढाउनुहोस्’, निरौलाले भनेका छन् ।

ताजा खबर