बेइजिङको सिनोफार्म कम्पनीको खोप आउने भयो

२०७८ असार १९ शनिबार ०९:४०:०० मा प्रकाशित

काठमाडौं । चीनमा उत्पादित खोप असार २४ गते देखि ल्याईने भएको छ ।

असार २४ गते देखि कोभिड विरुद्धको खोपको आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको हो । चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ । सोही सम्झौता अनुसार खोप ल्याउन लागिएको हो ।

खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्धको खोप अभियान सुचारु हुने गरी व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाबाट समेत छिटै खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम विस्तार हुने पनि मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म २५ लाख ७४ हजार ७ सय १५ जना कोभिड विरुद्धको खोपको पहिलो डोज लगाइसकेका छन् । ७ लाख ५७ हजार ३ सय ८० जनाले दोस्रो डोज लगाइसकेका छन् । यसअघि सरकारले छिमेकी देशहरु चीन, भारत र कोभ्यक्स सुविधामार्फत ४२ लाख ४८ हजार खोप प्राप्त गरी खोप अभियान सञ्चालन गर्दै आएको छ ।

 

ताजा खबर