बूढीगण्डकी बनाउन १४ अर्ब तयार

२०७४ मङ्सिर १२ मंगलबार १४:२०:०० मा प्रकाशित

काठमाडौं, १२ मंसीर । बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट १४ अर्ब रूपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले इन्धनबाट सो रकम संकलन गरेको हो ।

इन्धन आयात हुने भन्सार विन्दूमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रूपैयाँका दरले अहिलेसम्म १४ अर्ब रूपैयाँ संकलन भएको हो । निगमले बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधारण निर्माणका लागि आर्थिक वर्ष २०७३÷७४ को १६ जेठदेखि भन्सार विन्दुबाट प्रतिलिटर पाँच रूपैयाँका दरले रकम संकलन गर्दै आएको थियो । सरकारले अघिल्लो वर्षको बजेटमार्फत घोषणा गरेअनुसार प्रत्येक महिना इन्धनबाट रकम संकलन गरिँदै आएको छ ।

निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि अक्टोबरसम्म १३ अर्ब २० करोड रूपैयाँ संकलन भएको जानकारी दिए । नोभेम्बर महिनामा ८० करोड रूपैयाँ संकलन हुने उनले जानकारी दिए ।

डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रूपैयाँका दरले भन्सार विन्दुमा संकलन गरिएको रकम सरकारी खातामा जम्मा गरिएको उनले जानकारी दिए । निगमले अघिल्लो वर्ष ११ अर्ब संकलन गरेको थियो ।

सरकारले अघिल्लो आर्थिक वर्षको बजेट भाषणमा ७ अर्ब रूपैयाँ उठाउने लक्ष्यसहित इन्धनमा कर लगाउने घोषणा गरेको थियो । सोही अनुसार निगमले एक वर्षमै लक्ष्य भन्दा बढी रकम संकलन गर्न सफल भएको छ । निगमले प्रत्येक महिनामा इन्धनबाट ७० देखि ८० करोडका दरले रकम संकलन गर्दै आएको छ ।

उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी सरकारले इन्धन आयात हुने सम्बन्धित भन्सार विन्दुबाट डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा पाँच रूपैयाँका दरले रकम संकलन गर्दै आएको छ । निगमले अन्य शीर्षकमा उपभोक्ताबाट रकम असुल गर्दै आएको छ । प्रशासनिक खर्च, पूर्वाधार शुल्क, वातावरण प्रदूषण शुल्क र सडक मर्मत शुल्क गरी विभिन्न शीर्षकमा उपभोक्ताबाट रकम संकलन गरिँदै आएको छ । इन्धनबाट संकलन गरिएको रकम बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने काम भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । इन्धनबाट संकलन गरिएको रकम १२ सय मेघावाटको बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणमा खर्च गरिने छ ।

स्वदेशी लगानीमा निर्माण गर्ने उद्देश्यसहित सरकारले इन्धनमा कर लगाएको हो । तर अघिल्लो सरकारले चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप कपार्रेसन ९सीजीजीसी० लाई आयोजना निर्माण गर्ने जम्मा दिएकोमा अहिलेको सरकारले सो निर्णय खारेज गरिदिएको छ । सरकारले नै बूढीगण्डकी आयोजना निर्माण गर्ने निर्णय गरेको छ । २ खर्ब ५९ अर्ब लागत अनुमान गरिएको आयोजनाका लागि आवश्यक रकममध्ये निर्माण अवधिमा झन्डै एक खर्ब पेट्रोलियम पदार्थमा लगाइएको करबाट संकलन हुने र बाँकी रकमसमेत जुटाउन सकिने भन्दै स्वदेशी लगानीमै आयोजना बनाउनका लागि काम अगाडि बढेको बताइएको छ । कारोबारबाट ।

ताजा खबर