भोलिदेखि आन्तरिक तर्फ दैनिक ६४ उडान हुने, थप चार वटा हवाई कम्पनीलाई अनुमति 

२०७८ असार १६ बुधबार १३:५३:०० मा प्रकाशित

काठमाडौं । कोरोना महामारीपछि जारी गरिएको निषेधाज्ञासँगै स्थगित आन्तरिक हवाई उडान भोलि बिहीबारदेखि शुरु हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय भएको छ ।

भोलि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुने नागरिक उडड्यन प्राधिकरणबाट थाहा भएको छ । उडान भर्नेमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने छ ।

कुल उडान क्षमताको ५० प्रतिशतमा नबढने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो ।

यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ । अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्दे गर्ने भएका दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भएको हो । यसरी उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड पूर्ण पालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

ताजा खबर