युक्रेन पहिलो पटक युरोकपको क्वाटरफाइनलमा

२०७८ असार १६ बुधबार ०९:५१:०० मा प्रकाशित

काठमाडौं । युक्रेनले इतिहासमा पहिलो पटक युरोकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । युक्रेनले अन्तिम १६ मा स्विडेन माथि अतिरिक्त समयमा २–१ गोलको जीत हात पारेको हो । मुख्य प्रतियोगितामा केवल दोस्रो पटक टिमलाई क्वाटरफाइनल पुर्याउन अर्टेम डोभ्ब्योकले निर्णायक गोल गरे ।

ग्लास्गोस्थित हाम्पडेन पार्कमा स्वीडेन सुरु देखिनै आक्रमक देखिएको थियो । तर सुरुवातमै अग्रता लिन सकेन । २७ औं मिनेटमा युक्रेनका अलेकजान्दर जिनचेन्कोले गोल गरेपछि स्वीडेन एक शून्यले पछि परेको थियो । तर उसले ४३ औं मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि एमिल फर्सबर्गले गोल गरेका थिए । उनको यो युरोमा चौथो गोल हो । एउटै युरोकपमा चार गोल गर्ने फर्सबर्ग पहिलो स्वीडिस खेलाडी हुन् ।

त्यसपछि ९० मिनेट भित्र गोल हुन सकेन र खेल अतिरिक्र समयमा धकेलियो । ९९ औं मिनेटमा मार्कस डेनिएल्सन रातो कार्ड खाँदै मैदान बाहिरिएपछि स्वीडेन दश खेलाडीमा समेटियो । अतिरिक्त समयको दोस्रो हाफको अन्तिम समयमा डोभ्ब्योकले गोल गरेपछि युक्रेनले अन्तिम आठमा स्थान बनायो । उनले १ सय २० मिनेट ३७ सेकेन्डमा गोल गरेका थिए । यसअघि युक्रेन मात्र एक पटक २००६ को विश्वकपको क्वाटर फाइनल पुगेको   थियो ।

अब युक्रेनको भेट इङल्यान्डसँग हुनेछ । 

ताजा खबर