जर्मनीलाई हराउने इङल्यान्डको सपना ५५ वर्ष पछि पुरा

२०७८ असार १६ बुधबार ०९:२२:०० मा प्रकाशित

काठमाडौं । मुख्य प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई पराजित गर्ने  इङल्यान्डको सपना ५५ वर्ष पछि पुरा भएको छ । जारी युरोकपको अन्तिम १६ मा इङल्यान्डले जर्मनीलाई २ गोल निल दिएर सनसनीपूर्ण जीत हात पार्यो । यो नतिजा पछि इङल्यान्ड क्वाटर फाइनलमा प्रवेश गर्दा जर्मनीको यात्रा समाप्त भएको छ ।

लन्डनस्थित वेम्बली स्टेडिययमा ४० हजार बढी दर्शक माझ भएको महा भिडन्तमा इङल्यान्ड पूर्ण रुपमा हाबी भयो । इङल्यान्डको जीतमा गोलकिपर जोर्डन पिकफर्डको भुमिका पनि महत्वपूर्ण रह्यो । उनले जर्मनीको पहिलो हाफमा काइ हाभर्टस र दोस्रो हाफमा टिमो भेर्नरको प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । जारी युरोमा पिकफर्डले अहिलेसम्म गोल खाएका छैनन् ।

७५ औं मिनेटमा रहिम स्र्टलिङले ग्यारेथ साउथ गेटको टोलीलाई ब्रेकथ्रु दिलाए । उनले लुक सअको पासमा गोल गरेका हुन् । उनको जारी युरोमा यो तेस्रो गोल हो । स्र्टलिङले समूह चरणमा चेक रिपब्लिक र क्रोएशिया विरुद्ध पनि विजयी गोल गरेका थिए । उनले राष्ट्रिय टिमका लागि पछिल्लो २० खेलमा १५ गोल गरेका छन् ।

८१ औं समनेटमा जर्मनीका थोमस मुल्लरले खेल बराबरी गर्ने सुनौलो मौका गुमाए । उनी वान भर्सेस वानमा चुक्दा योकिम लोओको टोली खेलमा फर्कन सकेन । ८६ औं मिनेटमा कप्तान हेरी केनले सब्सिच्युट ज्याक ग्रिलिसको क्रसमा गोल गरेपछि इङल्यान्डले वेम्बलीमा जर्मनीलाई सात खेल पछि पराजित गर्यो । यो खेल अघिसम्म जर्मनी  वेम्बलीमा इङल्यान्ड विरुद्ध सात खेलदेखि अपराजित थियो । 

केनको जारी युरोमा यो पहिलो गोल हो । २०१४ को विश्व कप विजेता जर्मनी पहिलो पटक मुख्य प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएको हो । विश्व कप जितेयताको तीन ठूला प्रतियोगितामा योकिमको टोलीले खराब प्रदर्शन गर्यो । योकिमको जर्मनीको प्रशिक्षकका रुपमा यो अन्तिम खेल हो जुन सुुखद रहन सकेन । १५ वर्ष राष्ट्रिय टिम सम्हालेका उनले युरो पछि पद छोड्ने निर्णय यसअघि नै गरेका थिए ।

इङल्यान्डले यसअघि जर्मनीलाई नकआउट खेलमा १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो । वेम्बलीमा तीन सयौं खेल खेलेको इङल्यान्डले आफ्नो अपराजित यात्रा कायमै राख्यो । वेम्बलीमा खेलेका विश्वकप र युरोको दश खेलमा इङल्यान्ड हारेको छैन ।

ग्रुप अफ डेथ मानिएको समूह एफका सवै टिम युरोबाट बाहिरएका छन् । यो समूहमा जर्मनी सहित पोर्चुगल, फ्रान्स र हंगेरी थिए । पोर्चुगल र फ्रान्स अन्तिम १६ बाट बाहिरिएका हुन् । 

ताजा खबर