मेसी एक्लैको दुइ गोलले अर्जेन्टिना बिजयी, कोपा हात पार्ने सुनौलो अवसर 

२०७८ असार १५ मंगलबार १०:१४:०० मा प्रकाशित

काठमाडौं । लियोनल मेसीले राष्ट्रिय टिमका लागि सर्वाधिक १ सय ४८ क्याप जितेको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको आफ्नो अन्तिम खेलमा बोलिभियालाई ४–१ गोलले पराजित गरेको हो । अर्जेन्टिनाको जीतमा मेसीले एक्लै २ गोल गरेका थिए । 

बोलभियाको खेलसँगै ३४ वर्षिय मेसी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । उनले बार्साका पूर्व टिम मेट जाभिएर माशेरानोलाई जितेका हुन् । माशेरानोले एक सय ४७ खेल खेलेका थिए । आज विहान भएको खेलमा छैटौं मिनेटमा मेसीले उपलब्ध गराएको पासमा अलेक्जान्द्रो गोमेजले गोलको खाता खोलेका थिए । ३३ औं मिनेटमा मेसीले पेनाल्टिमा गोल गर्दै अग्रतालाई दोब्बर पारे । ४२ औं मिनेटमा मेसीले ब्यक्तिगत दोस्रो गोल गरे । अर्जेन्टिनाबाट एक सयौं खेल  पुरा गरेका सर्जियो अग्वेरोले मेसीलाई पास दिएका थिए ।

राष्ट्रिय टिमबाट मेसीको गोल संख्या ७५ पुगेको छ । उनी अर्जेन्टिनाका उच्च गोल कर्ता हुन् ।

६० औं मिनेटमा बोलिभियाका एरविन साभेद्रादे सान्त्वना गोल फर्काए । ६५ औं मिनेटमा लौतारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले १७ खेल देखीको अपराजित यात्रा कायम राख्यो । क्लब फुटवलमा बार्सीलोनाबाट प्राय सवै सफलता हात पारेका मेसी राष्ट्रिय टिमबाट पहिलो उपाधीको खोजीमा छन् । सन् २००५ मा अन्डर २० विश्वकप र २००८ मा ओलम्पिकमा स्वर्ण जितेपनि मेसीले सिनियर टिमका लागि उपाधीको खडेरी तोड्न सकेका छैनन् । उनी चार मुख्य प्रतियोगिताको फाइनलमा पराजित भएका छन् । २०१४ को विश्वकपमा जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना उपविजेतामा सिमित भयो । २००७, २०१५ र २०१७ को कोपाको फाइनलमा पनि मेसीको टोलीले उपाधी जित्न सकेन । यसपटक मेसी सामु कोपा जित्ने सुनौले अवसर छ ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरसँग खेल्नेछ । आजै पाराग्वेलाई एक शून्य गोलले हराएको उरुग्वेले कोलम्बियासँग भिड्नेछ । उरुग्वेको जीतमा इडिसन कभानीले पेनाल्टिमा गोल गरेका थिए । अन्य क्वाटरफाइनलमा साविक विजेता ब्राजिल र चिली तथा पेरु र पाराग्वे आमने सामने हुनेछन् । 

 

ताजा खबर