विदा भयो क्रोएशिया, स्पेनका कान्छा खेलाडी पनि भिडेका थिए

२०७८ असार १५ मंगलबार १०:०३:०० मा प्रकाशित

काठमाडौं । अतिरिक्त समयको फाईदा उठाउँदै स्पेनले बलियो प्रतिष्पर्धी क्रोएशियालाई पराजित गरेको छ । अतिरिक्त समयमा ३ का विरुध्द ५ गोल लगाएर स्पेन बिजयी भएको हो । सन् २०१२ पछि पहिलो पटक स्पेन मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

कोपेनहेगनस्थित पार्केन स्टेडियममा भएको यी दुइ बीचको खेल जारी युरोको उत्कृष्ट मध्येको एक बन्यो । प्रतिस्पर्धा, रोमाञ्चक  र नाटक मिश्रित खेलमा बाजी भने स्पेनले मार्यो । २० औं मिनेटमा स्पेनिस गोलकिपरको सिल्ली गल्तिकाबाट भएको आत्मघाती गोल सँगै लुका मोड्रिचको टोली क्रोएशियाले अग्रता लियो । स्पेनका लागि पेड्रिले आत्मघाती गोल गरेका हुुन्् । उनले आफ््ना गोलकिपर उनाइ सिमोनलाई वल पास गरेका थिए । तर सिमोनले सावधानी नअपनाउँदा वल खुट्टामा लाग्दै आफ्नै गोल पोष्ट पस्यो ।

जारी युरोमा भएको यो नवौं आत्मघाती गोल हो ।

स्पेनले खेल बराबरी गर्न धेरै समय लगाएन । ३८ औं मिनेटमा पाब्लो सराबियाले फरान टोरेसको पासमा गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो । ५७ औं मिनेटमा सेजर आपिलीक्वेटाले स्पेनलाई दुइ एकको अग्रता दिए । ७७ औं मिनेटमा टोरेसले गोल गरेपछि क्रोएशिया तीन एकले पछि पर्यो । आपिलीक्वेटाको २७ खेल खेल्दै राष्ट्रिय टिमका लागि यो पहिलो गोल हो । तर ८५ औं मिनेटमा सब्सिच्युट मिस्लाभ ओरिसिच र इन्जुरी समयमा मारियो पासालिचले गोल गरेपछि खेल तीन तीनको रोमाञ्चक मोडमा पुगेको थियो । थप गरिएको समयमा भने स्पेनका अल्भारो मोराटा र मिकेल ओयारसाबल नायक सावित भए । अघिल्लो खेलमा पेनाल्टीमा चुकेपछि आलोचीत बनेका मोराटाले एक सयौं मिनेटमा गोल गरे । १०३ औं मिनेटमा ओयारसाबलको गोल पछि लुइस इनरिकेको टोली स्पेनले अन्तिम आठमा स्थान सुरक्षित गर्दा विश्वकपको उपविजेता क्रोएशियाको मन भाँचियो ।

युरो इतिहासको यो दोस्रो ठूलो स्कोर भएको खेल हो । स्पेन युरोको लगातार दोस्रो खेलमा पाँच गोल गर्ने पहिलो टिम बनेको छ । स्पेनले २०१२ मा युरोको क्वाटर फाइनल पुगेयता समूह चरण पार गर्न सकेको थिएन । २०१२ मा स्पेनले उपाधी नै जितेको थियो । जारी युरोमा विश्व विजेता फ्रान्स, युरो विजेता पोर्चुगल र युरो तथा विश्वकप दुवैका फाइनालिस्ट बाहिरएका छन् । विश्वकपको फाइनलमा फ्रान्स र क्रोएशिया तथा युरोको फाइनलमा पोर्चुगल फ्रान्स भिडेका थिए । 

यो खेल मार्फत स्पेनका पेड्री युरोको नक आउट खेल्ने सवैभन्दा कम उमेरका खेलाडी बनेका छन् । क्रोएशिया विरुद्ध उत्रँदा उनी १८ वर्ष २१५ दिनका थिए ।

ताजा खबर