विश्वविजेता फ्रान्सलाई चकित पार्दै स्वीटजरल्याण्डले इतिहास रच्यो

२०७८ असार १५ मंगलबार ०९:४६:०० मा प्रकाशित

काठमाडौं । उपाधीको मुख्य दावेदारका रुपमा हेरिएको फ्रान्स युरोकपको नकआउट चरणबाटै बाहिरिएको छ । अन्डरडग स्वीटजरल्यान्डले विश्व विजेता फ्रान्सलाई पेनाल्टिमा ५–४ गोलले रोकेर विदा गर्यो ।  स्टार स्ट्राइकर किलियन एमबाप्पे पेनाल्टिलाई गोलमा परिणत गर्न असफल भएपछि फ्रान्सको यात्रा अन्तिम १६ म रोकिएको हो । स्वीटजरल्यान्ड भने ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश   गर्यो ।

बुखारेस्टस्थित नेशनल एरिनामा भएको रोमाञ्चक प्रतिस्पर्धामा स्वीस टिमले तीन एकले पछि परेको स्थितिबाट पुनरागमन गरेको थियो । १५ औं मिनेटमा हेरिस सेफेरोभिचले गोल गर्दै स्वीटजरल्यान्डलाई  अग्रता दिलाए । त्यसपछि स्वीटजरल्यान्डले पेनाल्टीमा गोल गर्दै फ्रान्स विरुद्धको दुरी २–० मा पुर्याउने सुनौलो मौकाको सदुपयोग गर्न सकेन । फ्रान्सका बेन्जिामिन पाभर्टले स्टेभन जुबेरलाई लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्रिको प्रयोगबाट उसलाई पेनाल्टी दिइएको थियो । तर रिकार्डो रोद्रिगेजको प्रहार फ्रेन्च गोलकिपर ह्युगो लोरिसले बचाए ।

त्यसपछि फ्रान्सलाई करिम बेन्जिमाले दुइ मिनेटको अन्तरमा दुइ गोल गर्दै खेलमा फर्काए । उनले ५७ र ५९ औं मिनेटमा गोल गरेका थिए । ७५ औं मिनेटमा पल पोग्बाले गोल गरेपछि  फ्रान्सले लगभग खेल आफ्नो पक्षमा पारिसकेको थियो । तर नौ मिनेट बाँकी हँुदा खेलले नाटकीय मोड लियो । जब स्वीटजरल्यान्डले दुइ गोल फर्काउँदै खेललाई अतिरिक्त समयमा धकेलिदियो । ८१ औं मिनेटमा सेफेरोभिच र इन्जुरी समयमा मारियो गाभारानोभिचले गोल गरे । थप गरिएको समयमा एमबाप्पे र ओलिभर जिरुडले गोल गर्ने अवसर गुमाएपछि खेल पेनाल्टीमा पुग्यो । जहाँ एमबाप्पेको प्रहारलाई गोलकिपर यान सोमरले रोकिदिए ।

यो जीतले स्वीटजरल्यान्डलाई सन् १९५४ को विश्वकप पछि पहिलो पटक प्रमुख प्रतियोगिताको क्वाटर फाइनलमा पुर्याएको छ । युरोमा उसले पहिलो पटक अन्तिम आठमा स्थान बनाएको हो । यो भन्दा अघिसम्म स्वीटजरल्यान्डले प्रतिस्पर्धात्मक खेलमा भएका तीनै पेनाल्टी सुटआउटमा हार बेहोरेको थियो ।

तीन वर्ष अघि सफलताको शिखरमा रहेको फ्रान्स र एमबाप्पे युरोमा नराम्रोसँग खसेका छन् । सन् २०१८ को रुस विश्वकपमा फ्रान्सले क्रोएशियालाई हराउँदै उपाधी जित्दा त्यतिवेला १९ वर्षका एमबाप्पे उत्कृष्ट युवा खेलाडी बनेका थिए । तर यस पटक उनी पूर्ण रुपमा असफल रहे । गत सिजन पेरिस सेन्ट जर्मेन पिएसजी र राष्ट्रिय टिमका लागि ४१ गोल गरेको रेकर्ड सहित एमबाप्पे युरोमा सहभागी भएका थिए । तर उनले फ्रान्सले खेलेका चारै खेलमा गोल गर्न सकेनन् । उनी महत्वपूर्ण पेनाल्टिीमा गोल गर्न असफल भएपछि फ्रान्स युरोबाटै बाहिरियो । एम्बाप्प्ेले सामाजीक संजाल मार्फत आफुले पेनाल्टिमा गोल गर्न नसकेको प्रति माफी समेत मागेका छन् । फ्रान्सको हार पछि २०१६ को युरोका चार सेमीफाइनालिस्ट टिममध्ये चार बाहिरिई सकेका छन् ।

जीतपछि स्वीस कप्तान ग्रानित जाकाले आफ्नो टिमले इतिहास रचेको प्रतिृकया दिए ।

स्वीजरल्यान्डले सेमीफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछन् । 
 

ताजा खबर