युरो कप: कस्तो होला क्रोएशिया भर्सेस स्पेन र फ्रान्स भर्सेस स्वीटजरल्यान्डको भिडन्त ?

२०७८ असार १४ सोमबार १८:५१:०० मा प्रकाशित

काठमाडौं । युरो कपको आज राती हुने नकआउट चरणका दुइ खेल पनि रोचक हुनेछन् । आज क्रोएशिया भर्सेस स्पेन र फ्रान्स भर्सेस स्वीटजरल्यान्ड बीच प्रतिष्पर्धा हुँदैछ । नकआउट चरणमा सवैको ध्यान र उत्सुकता गए रातीको बेल्जियम र पोर्चुगलबीचको प्रतिष्पर्धामा थियो । तर विश्व कपकै हाराहारीमा दर्शकको ध्यान खिच्न सफल त्यो प्रतिष्पर्धाले दर्शकलाई खुशी र विस्मात दुबै दिएको पाईएको छ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका टिमहरु नकआउटमै विदा हुँदा युरो कपको आकर्षण मलिन भएको पनि टिप्पणीहरु भएका छन् । सबै टिमहरुको असली परीक्षा भैरहेको नकआउटमा आज हुने प्रतिष्पर्धाले ककसलाई विदा गर्ने हो र कसलाई बिजय यात्रामा अगाडि बढाउने हो, आजै राती यसको छिनोफानो हुने नै छ । 

आज सोमबार राती ९ः४५ बजे कोपेनहेगन पार्केन स्टेडियममा हुने प्रतिष्पर्धामा क्रोएशिया र स्पेन भिड्दैछन् । लुका मोड्रिचको टोली क्रोएशियाले समूहको अन्तिम खेलबाट नकआउट चरणमा स्थान पक्का गरेको थियो । समूह डी मा रहेको क्रोएशिया इङल्यान्ड भन्दा पछि दोस्रो स्थानमा रह्यो । उसले चेक रिपब्लिकसँग १–१ को बराबरी र इङल्यान्डसँग १–० को पराजय बेहोर्यो । अन्तिम खेलमा स्कटल्यान्डलाई ३–१ ले पराजित गरेपछि क्रोएशियाले आफुलाई कमजोर नआँक्न चेतावनी दिएको थियो ।

विश्वकपको उपविजेता क्रोएशियाले लयमा फर्किएको स्पेनलाई रोक्ला त रु स्पेनले समूहका दुइ खेलमा अपेक्षा गरिए अनुसारको खेल खेल्न सकेन । स्वीडेनसँग गोल रहित  र पोल्यान्डसँग १–१ को बराबरी खेलेको स्पेन अन्तिम खेलमा स्लोभाकियालाई ५–० गोलले हराउँदै समूह इ को उपविजेता बनेको थियो । यो खेल मार्फत उसले अट्याक्ङि फुटवलको नमूना प्रस्तुत गरेको थियो । 

मुख्य प्रतियोगितामा यी दुइ टिम तेस्रो पटक आमने सामने हुँदैछन् । यसअघिका दुवै खेल युरोपियन च्याम्पियनसिपको समूह चरणमा थियो । २०१२ मा स्पेन विजयी हुँदा २०१६ मा क्रोएशियाले बाजी मारेको थियो । २००८ र २०१२ को युरो तथा २०१० को विश्वकप च्याम्पियन स्पेन पछिल्ला दुइ ठूला प्रतियोगितामा भने नकआउट चरणबाटै बाहिरिएको छ । २०१६ को युरोमा अन्तिम १६ मा इटालीसँग पराजित भएको स्पेन २०१८ को विश्वकपमा रुससँग हारेको थियो । 

क्रोएशिया २००८ यता युरो कपको क्वाटरफाइनल पुगेको छैन । 

आजै राती १२ः४५ बजे फ्रान्स र स्वीटजरल्यान्ड बीच प्रतिष्पर्धा हुँदैछ ।  विश्वकप विजेता युरोको उपाधी जित्ने सवभन्दा वलियो प्रत्यासी टिम हो । ग्रुप अफ डेथ मानिएको समूह एफमा रहेको फ्रान्स विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । तर उसले अझैपनि आफ्नो क्षमता अनुसारको प्रदर्शन गरेको छैन । तर समूह चरणमा विपक्षी पनि वलिया थिए ।

करिम बेन्जिमाको पुनरागमनले वलियो भएको फ्रान्सले पहिलो खेलमा जर्मनीलाई आत्मघाती गोलको मदतमा एक शून्यले हराएको थियो । हंगेरीले उसलाई बराबरीमा रोक्यो । पोर्चुगलसँग पनि अंक बाड्यो । किलियन एमबाप्पे अझै जारी युरोमा पहिलो गोलको खोजीमा छन् । एन्टोइन ग्रिजमन, पल पोग्बा, एमबाप्पे लगायतले राम्रो खेलको अवस्थामा फ्रान्सलाई रोक्न मुश्किल पर्नेछ ।

के यो टिमलाई स्वीटजरल्यान्डले हराउने आँट गर्ला त रु स्वीस टिमको यो गोल्डेन जेनेरेसन मानिन्छ । स्वीटजरल्यान्ड उत्कृष्ट तेस्रो हुने टोलीको रुपमा अन्तिम १६ मा पुगेको हो । 

फ्रान्स स्वीटजरल्यान्डसँगका पछिल्ला ७ खेलमा अपराजित छ । तर पछिल्ला पाँच मध्ये चार खेल बराबरीमा सकिएको थियो । मुख्य प्रतियोगितामा यी दुइ यसअघि चार पटक आमनेसामने भएका छन् । २००४ र २०१६ को युरो तथा २००६ र २०१४ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । ती सवै समूह चरणका खेल थिए । जसमा फ्रान्सले दुइमा जीत हात पार्दा दुइ खेल बराबरीमा सकिएको थियो । अघिल्लो युरोमा पनि यी दुइले गोल रहित बराबरी खेलेका थिए । 

ताजा खबर