उपत्यका फेरि निषेधाज्ञा,भाेलिदेखि जोर-बिजोर गरी सार्वजनिक गाडी चलाउन पाइने

२०७८ असार १४ सोमबार १३:२६:०० मा प्रकाशित

काठमाडौं । काठमाडाैं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएकाे छ ।

 

सोमबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीको बैठकले केही प्रावधान खुकुलाे पार्दै फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेकाे हाे ।

थपिएकाे निषेधाज्ञामा भाेलिदेखि लागू हुनेगरी २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । यसरी गाडी चलाउँदा जाेर-बिजाेर प्रणाली लागू हुने उनले बताए । 

मंगलबारदेखि २५ सिट माथिका सार्वजनिक बस चलेपनि माइक्रो तथा टेम्पोजस्ता साना सवारी साधन भने तत्काल चल्न पाउने छैनन् ।सार्वजनिक गाडीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड पनि पूर्ण रुपमा पालना गर्नुपर्ने छ । गत वैशाख १६ देखि सार्वजनिक गाडी बन्द छन् ।निजी सवारी साधनकाे हकमा भने यसअघिकै प्रावधान कायम राखिएकाे छ । 

 दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खाेल्न दिने निर्णय बैठकले गरेकाे छ । अन्य पसलहरू पनि बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न दिइने प्रजिअ भट्टराईले जानकारी  दिए । यसअघि खाद्यान्न,फलफूल लगायत पसल बिहान ११ बजेसम्म खाेल्न पाइने नियम बनाइएकाे थियाे भने हार्डवेयर लगायत पसल अपरान्ह ४ बजेपछि खाेल्न दिइएकाे थियाे ।

काेभिड संक्रमितकाे संख्या कम हुँदै गएपछि उपत्यकामा विस्तारै-विस्तारै गरेर निषेधाज्ञा खुकुलाे पार्दै लगिएकाे छ । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

ताजा खबर