आफ्नो समूहबाट शानदार जितेको नेदरल्याण्ड्स चेकरिपव्लिकसँग हार्याे

२०७८ असार १४ सोमबार ०९:०६:०० मा प्रकाशित

काठमाडौं । उपाधी दावेदारका रुपमा हेरिएको नेदरल्यान्डसलाई स्तब्ध पार्दै चेक रिपब्लिकले युरोकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । फिफा वरियतामा नेदरल्यान्डस भन्दा २४ स्थान तल रहेको चेकले अन्तिम १६ को खेलमा दुइ शून्यको जीत हात पारेको हो  ।

हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा चेकले सशक्त खेल प्रदर्शन गर्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५५ औं मिनेटमा मतैस दि लिख्त सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेदरल्यान्डस दश खेलाडीमा झर्यो । प्याट्रिक सिकलाई गोल गर्ने अवसरबाट बञ्चित गराउँदै हातले वल छोएपछि दि लिख्तलाई रातो कार्ड दिइएको हो । सुरुमा रेफ्रिले पहेंलो कार्ड देखाएका थिए । भिडियो एसिस्टेन्स रेफ्रिको रिभ्यु पछि दि लिख्तले रातो कार्ड पाएका हुन् ।

त्यसपछि डच टिम थप दवावमा आयो । जसको फाइदा उठाउँदै चेकले ६८ औं मिनेटमा अग्रता लियो । उसका लागि थोमस होलेसले डेड लक तोडेका थिए । चेकले युरोको नकआउटमा २००४ पछि गरेको यो पहिलो गोल हो । ८० औं मिनेटमा होलेसको पासमा सिकले गोल गरेपछि चेकले नेदरल्यान्डसको युरो यात्रामा पूर्णविराम लगाइदियो । सिकको जारी युरोमा यो चौथो गोल हो । उनी भन्दा अघि क्रिस्टयानो रोनाल्डो छन् । उनले ५ गोल गरेका थिए ।

समूह चरणमा तीन खेलमा जीत हात पार्दै नौ अंकका साथ नकआउट प्रवेश गरेको नेदरल्यान्डस कोल्याप्स नै भयो । चेकले अब डेनमार्कसँग खेल्नेछ । २००४ मा डेनमार्कलाई नै ३–० गोलले पराजित गरेर चेक युरोको सेमीफाइनल पुगेको थियो । 

 

ताजा खबर