रोनाल्डोको जादूको जोड चलेन, बेल्जियमको एक गोलमै विदा भयो पोर्चुगल

२०७८ असार १४ सोमबार ०८:५२:०० मा प्रकाशित

काठमाडौं । साविक विजेता पोर्चुगल युरोकपको अन्तिम १६ बाटै बाहिरिएको छ । गएराती भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो । गोल्डेन जेनेरेशन बेल्जियमको जीतमा थोर्गन हाजार्डको गोल पर्याप्त बन्यो ।

जर्मन क्लब बोरुसिया डर्टमन्डबाट खेल्ने विंगर थोर्गनले ४२ औं मिनेटमा करिब २५ यार्डबाट आकर्षक गोल गरेका थिए । यहि गोलले रोबर्टो मार्टिनजेको टोलीलाई क्वाटर फाइनलमा इटालीसँगको भेट पक्का गरायो ।

पोर्चुगल केही हदसम्म अभागी पनि सावित भयो । उसका डिएगो जोटा, रुवेन डायस र राफल गुरेरोको प्रहारले पोस्टको सही दिशा समाउन सकेन । पहिलो हाफमै क्रिस्टियानो रोनाल्डोको फ्रि किक बेल्जियम गोलकिपर टिबो कोट्वाले बचाएपछि पोर्चुगल सुरुमै गोल गर्नबाट चुकेको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि बराबरी गोल फर्काउन नसक्दा पोर्चुगल युरो यात्रा छिट्टै टुंङग्याउन बाध्य भयो । पहिलो हाफमा पनि पोर्चुगलले बेल्जियमले भन्दा बढी अवसरको सिर्जना गरेको थियो ।

बेल्जियमले भने पाएको एउटै मौकामा गोल गर्दै फर्नान्डो सान्तोषको टोलीलाई निराश बनायो । ४८ औं मिनेटमा बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुयना चोटका कारण मैदान बाहिरिएका थिए । सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने लक्ष्य सहित मैदानमा उत्रिएका ३६ वर्षिय रोनाल्डोको जादुको पनि जोड चलेन । संभवत उनको यो अन्तिम युरो सहभागिता हो ।

बेल्जियमका रोमुलु लुकाकुले गोलका केही मौका पाए तर सफल भएनन् । युरोमा लगातार दोस्रो संस्करण साविक विजेता टिम अन्तिम १६ बाट बाहिरिएको हो । सन २०१६ मा स्पेन पनि क्वाटरफाइनल पुग्न असफल भएको थियो । बेल्जियमको पछिल्लो २७ खेलमा यो २३ औं जीत हो । तीन वर्ष यता फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियम पहिलो मुख्य प्रतियोगिताको उपाधी जित्नबाट मात्र तीन जीतले पछि छ । यो जेनेरेशनले पनि बेल्जियमका लागि उपाधी नतिजे धेरै वर्ष कुनुपर्ने विश्लेषण गरिँदै आएको छ । 

ताजा खबर