युरोकप: १७ वर्षपछि खुल्यो डेनमार्कको भाग्य

२०७८ असार १३ आइतबार ०९:३३:०० मा प्रकाशित

काठमाडौं । डेनमार्क १७ वर्षपछि पहिलो पटक युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा डेनमार्कले वेल्समाथि ४–० गोलको प्रभावशाली जीत हात पार्यो ।

एम्सर्टडमस्थित योहान त्रफ स्टेडियममा भएको खेलमा डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्यो । सुरुमा वेल्सका कप्तान ग्यारेथ बेलले डेनमार्कको पोस्टमा दुइ पटक प्रहार गरेका थिए । बाँकी समयमा भने डेनिस टिम वेल्समाथि हाबी भयो ।

२७ औं मिनेटमा कास्पर डोल्बर्गको गोल मार्फत डेनमार्कले अग्रता लिएको थियो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट आकर्षक गोल गरे । ४८ औं मिनेटमा उनैले दोस्रो गोल गरेपछि वेल्स दुइ शून्यले पछि परेको थियो ।

वेल्सका डिफेन्डर निको विलियम्सको गल्तिको फाइदा डोल्बर्गले उठाए । विलियम्सले डेनमार्कका मार्टिन ब्रेथबेटको क्रसलाई क्लियर गर्ने प्रयास गरेका थिए । तर उनले डोल्बर्गलाई पास दिए । डोल्बर्ग सन् १९९२ पछि युरोको नकआउटमा दुइ गोल गर्ने पहिलो डेनिस खेलाडी हुन् । यसअघि हेनरिक लारसेनले नेदरल्यान्डस विरुद्धको सेमीफाइनलमा दुइ गोल गरेका थिए । ८८ औं मिनेटमा योकिम माहेल र इन्जुरी समयमा ब्रेथवेटले गोल गरेपछि डेनमार्क २००४ पछि पहिलो पटक युरोको अन्तिम आठमा प्रवेश गर्यो ।

९० औं मिनेटमा हेरी विल्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेल्स दश खेलाडीमा सीमित भएको थियो । क्रिस्टियन एरिक्सनलाई युरोको पहिलो खेलमै मुटुमा समस्या आए यता डेनमार्कले  न्युट्रल समर्थकको पनि सहानुभूति पाउँदै आएको छ ।

योहान क्रफ स्टेडियममा यसअघि क्लब फुटवलमा धेरै डेनिस खेलाडीले खेलिसकेका थिए । वेल्सको यात्रा भने अन्तिम १६ मा नै सकियो । २०१६ मा वेल्स सेमीफाइनलसम्म पुगेको थियो । डेनमार्कले क्वाटरफाइनलमा नेदरल्यान्डस र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

ताजा खबर