अतिरिक्त समयको लाभ उठाउँदै इटाली क्वाटर फाईनलमा 

२०७८ असार १३ आइतबार ०९:२६:०० मा प्रकाशित

काठमाडौं । इटालीले अतिरिक्त समयमा अस्ट्रियालाई २–१ गोलले पराजित गर्दै युरोकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको रोबर्टो मान्सिनीको टोलीलाई अस्ट्रिया विरुद्ध जीत हात पार्न भने निकै संघर्ष गर्नुपर्यो । उसको जीतमा सब्सिच्युट फेड्रिको कियजा र माटियो पेस्सिनाले गोल गरेका थिए ।

निर्धारित समयमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा इटालीले सुरुवातमा  गोलका केही राम्रा मौकाको सदुपयोग गर्न सकेन । निकोलो बरेल्ला र चिरो इम्मोबिलेको प्रहारले पोस्टको दिशा लिन सकेन । ६१ औं मिनेटमा अस्ट्रियाका मार्को अर्नाउटोभिचले हेडर गोल गर्दै इटाली विरुद्ध अग्रता दिलाएका थिए । तर अस्ट्रियाले राम्रोसँग खुशीयाली मनाउन नपाउँदै भिडियो एसिस्टेन्ट रेफ्रि भारले उनको गोललाई अफसाइड घोषणा गरिरिदयो । यसले पहिलो पटक युरोकपको नकआउट खेलिरहेको अस्ट्रियालाई निराश बनाउँदा इटालीलाई भने ठूलो राहत मिल्यो ।

९० मिनेटमा दुवै टिमले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गयो । ९५ औं मिनेटमा कियजाले डेडलक तोडे । १ सय ५ औं मिनेटमा पेस्सिनाले दोस्रो गोल गरे । कियजा ८४ औं मिनेटमा डोमिनिको बेरार्दीको स्थानमा र पेस्सिना ६४ औं मिनेटमा बरेल्लाको स्थानमा मैदान प्रवेश गरेका थिए । पेस्सिनाको गोल जारी युरोको एक सयौं गोल पनि हो । यस्तै कियजा पनि युरो फाइनल चरणमा गोल गर्ने आफ्ना बुबा इनरिको सँगै सामेल भएका छन् । उनका बुबाले १९९६ को युरोमा चेक रिपब्लिक विरुद्ध गोल गरेका थिए । १ सय १४ औं मिनेटमा अस्ट्रियाका सासा कालाइचिचले गोल गरेपनि अस्ट्रियाको जीतका लागि पर्याप्त भएन । इटालीले पछिल्ला १२ खेलमा खाएको यो पहिलो गोल हो । इटालीले ३१  खेल देखि अपराजित रहँदै नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाएको छ । 

पछिल्लो पटक इटाली सन २०१८ मा नेशन्स लिगमा पोर्चुगलसँग हारेको थियो ।मान्सिनीको टिमले ८२ वर्ष पुरानो कीर्तिमान तोडेको हो । यसअघि सन १९३५ अक्टोबर देखि १९३९ जुलाइको बीचमा लगातार ३० खेल जितेको थियो । अब इटालीले बेल्जियम र पोर्चुगल बीचको बीजेतासँग खेल्नेछ ।  

ताजा खबर