युरोकपको कथाः कस्ता छन् अन्तिम १६ मा भिड्ने टिम ?  

२०७८ असार १२ शनिबार १४:०८:०० मा प्रकाशित

काठमाडौं । युरोकपमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । आज वेल्स र डेनमार्क तथा इटाली र अस्ट्रिया बीचको खेल सँगै प्रि–क्वाटरफाइनल खेल अघि बढ्नेछ ।  नकआउट चरणमा सवैको नजर बढी बेल्जियम पोर्चुगल र इङल्यान्ड जर्मनी बीचको खेलमा  परेको छ । उपाधी दावेदार चार टोली मध्ये दुइको यात्रा अन्तिम १६ मा नै रोकिनेछ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको इटाली, उपाधीको वलियो प्रत्यासि फ्रान्स, पूर्व च्याम्पियन स्पेनको प्रदर्शन कस्तो रहला ? कुनै अन्डरडग टिमले सरप्राइज नतिजा हात पार्लान् ? समर्थक ब्यग्र प्रतिक्षामा छन् । टिमहरुको असली परीक्षा अब सुरु हुँदैछ । 
कस्ता छन् अन्तिम १६ मा भिड्ने टोली ? 

वेल्स भर्सेस डेनमार्क 
एम्सर्टडम–योहान क्रफ स्टेडियम 
शनिबार राती ९ः४५ बजे 

डेनमार्कका लागि यो पटकको युरोकप भावनात्मक रुपमा निकै कठिन रह्यो । समूह चरणको पहिलो खेलमा फिनल्यान्ड विरुद्ध स्ट्राइकाइर क्रिस्टियन एरिक्सनलाई कार्डियाक अरेस्ट भयो । मैदानमै ढलेका उनी उपचार पछि घर फर्किसकेका छन् । यो घटनाले डेनिस टिमका लागि मात्र नभएर विश्व फुटवललाई नै दुःखी बनायो । यति भएर पनि डेनमार्कले समूह चरण पार गर्यो ।

सुरुका दुइ खेलमा फिनल्यान्ड र बेल्जियमसँग हारेको डेनमार्कले अन्तिम खेलमा रुसमा माथि ४–१ गोलको प्रभावशाली जीत हात पार्दै नकआउट चरणमा स्थान बनाएको हो । सुरुका दुइ खेल हारेर पनि युुरोको नकआउट पुग्ने डेनमार्क पहिलो टोली हो । डेनमार्क समूह बी को उपविजेता हो । वेल्स समूह ए मा एकमा जीत, एकमा हार र एकमा बराबरी गर्दै उपविजेता बनेको थियो ।

स्वीटजरल्यान्डसँग बराबरी खेलेको उसले इटालीसँग पराजय बेहोरेको थियो । अन्तिम खेलमा टर्की माथि जीत हात पार्यो । वेल्सका प्रशिक्षक रोबर्ट पेजले डेनमार्क फेभरेट भएको बताए । डेनमार्कलाई न्युट्रल समर्थकको साथ रहने पनि उनको भनाइ छ । एरिसक्सनको घटना पछि डेनिस टिमलाई  दर्शकको सहानुभूति छ ।

वेल्स २०१६ को युरोमा सेमीफाइनलसम्म पुगेको थियो । त्यो युरो वेल्सको ५८ वर्षपछिको पहिलो ठूलो प्रतियोगिता थियो । ग्यारेथ बेलको कप्तानीमा रहेको टोली यो पटक पनि लामो यात्रा तय गर्ने लक्ष्यमा छ ।
डेनमार्क  १९६४ मा  सेमीफाइनल पुगेको थियो । १९९२ मा च्याम्पियन बन्यो । तर डेनिस टोली २००४ पछि पहिलो पटक नकआउट चरणमा खेल्दैछ । जारी युरोमा डेनमार्क पहिलो पटक कोपेहेगन भन्दा बाहिर   खेल्दैछ । तर उसका लागि एम्सर्टडम परिचित शहर हो । यी दुइ बीच अहिलेसम्म भएको दश भेटमा वेल्स चार  र डेनमार्क ६ मा विजयी भएको छ । ठूलो प्रतियोगितामा भने  पहिलो पटक खेल्दैछन् । 

इटाली भर्सेस अस्ट्रिया 
लन्डन– वेम्बली स्टेडियम 
शनिबार– १२ः४५ बजे ।

इटालीलाई युरो सुरु हुनु अघिसम्म उपाधीको प्रमुख दावेदार टिमका रुपमा हेरिएको थिएन । तर उसले समूह चरणका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्यो । उसको खेलले सवैलाई प्रभावित पार्यो । समूह ए को विजेता बन्ने क्रममा उसले टर्की र स्वीटजरल्यान्डलाई ३–० र वेल्सलाई १–० गोलले पराजित गरेको थियो । उसले तीन खेलमा नै गोल खाएन । रोर्बटो मान्सिनीको टोली पछिल्ला ३० खेल यता अपराजित छ । उसले ११ खेलमा क्लिन सिट राखेको छ । जारी युरोमा नकआउटमा स्थान पक्का गर्ने इटाली पहिलो टोली हो ।

अस्ट्रियाले समूह सी को उपविजेता बन्दै इटालीसँगको भेट पक्का गरेको हो । उसले समूहको अन्तिम खेलमा युक्रेनलाई हराउँदै पहिलो पटक नकआउटमा स्थान बनायो । इटाली फेभरेट र अस्ट्रिया अन्डरडगका टोली हो । अस्ट्रियन प्रशिक्षक फ्रान्सो फोडाले जारी युरोमा सवैभन्दा कन्भिन्सिङ टिम इटाली भएको भन्दै गल्ति गर्ने छुट आफुहरुलाई नभएको उल्लेख गरे । युरोमा यी दुइ टिम पहिलो पटक खेल्दैछन् । सन् १९६० मा अस्ट्रियाले इटालीलाई पराजित गरेको थियो । त्यस यता भएका सवै १३ खेलमा इटाली विजयी भएको छ ।  पछिल्लो पटक २००८ मा  भएको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा सकिएको थियो । 

नेदरल्यान्डस भर्सेस चेक रिपब्लिक 
बुडापेस्ट– पुस्कास एरिना 
आइतबार राती ९ः४५ बजे 

नेदरल्यान्डस जारी युरोको समूह चरणका तीन खेलमा सर्वाधिक गोल गर्ने टोली हो । समूह सी को विजेता बन्ने क्रममा डच टोलीले युक्रेनलाई ३–२, अस्ट्रियालाई २–० र नर्थ मेसिडोनियालाई ३–० गोलले पराजित गरेको थियो । तीनै खेल नेदरल्यान्डसले एम्सटर्डममा खेलेको थियो । अब उसले आफ्नो उच्च स्तरीय प्रदर्शनलाई हंगेरीको बुडापेस्टमा पनि दिनुपर्नेछ ।

पुस्कास एरिना यो युरोमा शतप्रशितक दर्शक अनुमति पाएको एक मात्र स्टेडियम हो । डच टोली सामु चेक रिपब्लिकको डिफेन्स तोड्न सहज भने हुने छैन । चेक उत्कृष्ट तेस्रो टोलीका रुपमा समूह डी बाट अन्तिम १६ मा पुगेको हो । उसले स्कटल्यान्डलाई २–० गोलले हराउँदा क्रोएशियासँग १–१ गोलको बराबरी खेलेको थियो । इङल्यान्डसँग १–० गोको साँघुरो हार बेहोर्यो । स्ट्राइकर प्याट्रिक सिकले ३ गोल गरिसकेका छन् । नेदरल्यान्डसको गल्तिमा उनी चेकका लागि म्याच वीनर बन्न सक्छन् । यी दुइ युरोपियन च्याम्पियनसिपमा तेस्रो पटक खेल्दैछन् । 

बेल्जियम भर्सेस पोर्चुगल 
सेभिल 
आइतबार राती –१२ः४५ बजे 

अन्तिम १६ को यो बहुप्रतिक्षित खेल हो । युरोकपको साविक विजेता पोर्चुगल र उत्कृष्ट लयमा रहेको बेल्जियममध्ये कसले क्वाटरफाइनलमा स्थान बनाउला त ? त्यसका लागि खेल कुनुपर्नेछ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलका लागि स्तरीय खेलाडीले भरिएको बेल्जियम विरुद्धको खेल सहज हुने छैन । केभिन डि ब्रुयना, रोमेलु लुकाकु, इडेन हाजार्ड बेल्जियमका खम्बा हुन् । बेल्जियम तीन खेलमा जीत हात पार्दै समूह बी को विजेताका रुपमा नकआउट पुगेको हो । उसले रुसलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा डेनमार्क विरुद्ध एक शून्यले पछि परेको स्थितिबाट खेलमा फर्कदै २–१ को जीत हात पारेको थियो । फिनल्यान्डलाई २–० ले हरायो । पोर्चुगलको भने समूह चरणको खेल मिश्रित रह्यो । हंगेरीलाई ३–० ले पराजित गर्दा रोनाल्डोले युरोमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

जर्मनीसँग भने पोर्चुगलले ४–२ को हार बेहोर्यो । अन्तिम खेलमा फ्रान्ससँग २–२ गोलको बराबरी खेल्दै पोर्चुगल उत्कृष्ट तेस्रो टिमका रुपमा नकआउटमा स्थान बनाएको हो । मुख्य प्रतियोगितामा बेल्जियम र पोर्चुगल पहिलो पटक खेल्दैछन् । बेल्जियम विरुद्धका पछिल्ला पाँच खेलमा पोर्चुगल अपराजित छ । तर बेल्जियम टिमले रोबर्टो मार्टिनेजको प्रशिक्षणमा खेलेका पछिल्ला ५८ खेलमा मात्र एक खेलमा गोल गरेको छैन । 

क्रोएशिया भर्सेस स्पेन 
कोपेनहेगन पार्केन स्टेडियम 
सोमबार राती ९ः४५ बजे 

लुका मोड्रिचको टोली क्रोएशियाले समूहको अन्तिम खेलबाट नकआउट चरणमा स्थान पक्का गरेको थियो । समूह डी मा रहेको क्रोएशिया इङल्यान्ड भन्दा पछि दोस्रो स्थानमा रह्यो । उसले चेक रिपब्लिक संग १–१ को बराबरी र इङल्यान्डसँग १–० को पराजय बेहोर्यो । अन्तिम खेलमा स्कटल्यान्डलाई ३–१ ले पराजित गरेपछि क्रोएशियाले आफुलाई कमजोर नआँक्न चेतावनी दियो ।

विश्वकपको उपविजेता क्रोएशियाले लयमा फर्किएको स्पेनलाई रोक्ला त ? स्पेनले समूहका दुइ खेलमा अपेक्षा गरिए अनुसारको खेल खेल्न सकेन । स्विडेनसँग गोल रहित  र पोल्यान्डसँग १–१ को बराबरी खेलेको स्पेन अन्तिम खेलमा स्लोभाकियालाई ५–० गोलले हराउँदै समूह इ को उपविजेता बनेको थियो । यो खेल मार्फत उसले अट्याक्ङि फुटवलको नमुना प्रस्तुत गरेको थियो । 

मुख्य प्रतियोगितामा यी दुइ टिम तेस्रो पटक आमने सामने हुँदैछन् । यसअघिका दुवै खेल युरोपियन च्याम्पियनसिपको समूह चरणमा थियो । २०१२ मा स्पेन विजयी हुँदा २०१६ मा क्रोएशियाले बाजी मारेको थियो । २००८ र २०१२ को युरो तथा २०१० को विश्वकप च्याम्पियन स्पेन पछिल्ला दुइ ठूला प्रतियोगितामा भने नकआउट चरणबाटै बाहिरिएको छ । २०१६ को युरोमा अन्तिम १६ मा इटालीसँग पराजित भएको स्पेन २०१८ को विश्वकपमा रुससँग हारेको थियो । 

क्रोएशिया २००८ यता युरोकपको क्वाटरफाइनल पुगेको छैन । 

फ्रान्स भर्सेस स्वीटजरल्यान्ड 
रोमानिया बुखारेस्ट– नेशनल एरिना 
सोमबार राती १२ः४५ बजे 

विश्वकप विजेता फ्रान्स युरोको उपाधी जित्ने सवभन्दा वलियो प्रत्यासी टिम हो । ग्रुप अफ डेथ मानिएको समूह एफमा रहेको फ्रान्स विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । तर उसले अझैपनि आफ्नो क्षमता अनुसारको प्रदर्शन गरेको छैन । तर समूह चरणमा विपक्षी पनि वलिया थिए ।

करिम बेन्जिमाको पुनरागमनले वलियो भएको फ्रान्सले पहिलो खेलमा जर्मनीलाई आत्मघाती गोलको मदतमा एक शून्यले हराएको थियो । हंगेरीले उसलाई बराबरीमा रोक्यो । पोर्चुगलसँग पनि अंक बाड्यो । किलियन एमबाप्पे अझै जारी युरोमा पहिलो गोलको खोजीमा छन् । एन्टोइन ग्रिजमन, पल पोग्बा, एमबाप्पे लगायतले राम्रो खेलको अवस्थामा फ्रान्सलाई रोक्न मुश्किल पर्नेछ । के यो टिमलाइ स्वीटजरल्यान्डले हराउने आँट गर्ला त ? स्वीस टिमको यो गोल्डेन जेनेरेसन मानिन्छ । स्वीटजरल्यान्ड उत्कृष्ट तेस्रो हुने टोलीको रुपमा अन्तिम १६ मा पुगेको हो । 

फ्रान्स स्वीटजरल्यान्डसँगका पछिल्ला ७ खेलमा अपराजित छ । तर पछिल्ला पाँच मध्ये चार खेल बराबरीमा सकिएको थियो । मुख्य प्रतियोगितामा यी दुइ यसअघि चार पटक आमनेसामने भएका छन् । २००४ र २०१६ को युरो तथा २००६ र २०१४ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । ती सवै समूह चरणका खेल थिए । जसमा फ्रान्सले दुइमा जीत हात पार्दा दुइ खेल बराबरीमा सकिएको थियो । अघिल्लो युरोमा पनि यी दुइले गोल रहित बराबरी खेलेका थिए । 

इङलल्यान्ड भर्सेस जर्मनी 
लन्डन वेम्बली स्टेडियम 
मंगलबार राती ९ः४५ बजे 

नकआउट चरणको अर्को ठूलो खेल हो जर्मनी र इङल्यान्ड भिडन्त । वेम्बलीमा ४० हजार दर्शक सामु एक टिमको युरो जित्ने  सपना अन्तिम १६ मा नै समाप्त हुनेछ । इङल्यान्डका जोर्डन हेन्डरसनले जर्मनी विरुद्धको भेटलाई विषेश खेल भनेका छन् । उनी भन्छन्– ‘यो खेल खेलाडी र समर्थक दुवैका लागि रोमाञ्चक हुने छ । यो खेलले धेरैलाई १९९६ को युरो  सेमी फाइनलमा पुर्याउनेछ । जहाँ जर्मनीले पेनाल्टिमा इङल्यान्डलाई हराएको थियो ।’ पछिल्लो ३१ वर्षमा यी दुइ टिम मुख्य प्रतियोगिताको नक आउट चरणमा चौथो  पटक  खल्दैछन् । हरेक पटक इङल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । जर्मनीसँगको खेल वेम्बलीमा इङल्यान्डको ३०० खेल हुनेछ । युरोमा तेस्रो पटक आमने सामने हुँदैछन् । 

स्वीडेन भर्सेस युक्रेन 
ग्लास्गो – ह्याम्वडेन पार्क 
मंगलबार राती १२–४५ बजे 

स्वीडेन र युक्रेन बीचको खेल  सँगै क्वाटरफाइनल समीकरण पुरा हुनेछ । स्वीडेन स्पेन रहेको समूह इ को विजेता र समूह सी मा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिमका रुपमा अन्तिम १६ मा पुगेका हुन् । स्वीडेनको युरोपियन च्याम्पियनसिपमा यो केवल तेस्रो नकआउट हो । १९९२ को सेमीफाइनलमा जर्मनीसँग हारेको स्वीडेन २००४ मा नेदरल्यान्डसँग क्वाटरफाइनलमा पेनाल्टिमा हारेको थियो ।

युक्रेन मुख्य प्रतियोगितामा दोस्रो पटक नकआउट पुगेको हो । यसअघि २००६ को विश्वकपमा दोस्रो चरण पुगेको थियो । स्वीडेन र युक्रेन बीच पाँचौ पटक प्रतिस्पर्धा हुँदैछ  । स्वीडेनको एक मात्र जीत २०११ को मैत्रीपूर्ण खेलमा हात पारेको थियो । पछिल्लो पटक २०१२ को युरोमा पनि यी दुइ भिडेका थिए । त्यसवेला युक्रेनले २–१ गोलको पुनरागमन जीत हात पारेको थियो । त्यतिबेला गोल गरेका आन्दे सेभचेन्को हाल युक्रेन टिमका प्रशिक्षक  छन् ।  
 

ताजा खबर