इङल्यान्डसँग एक खेल अघि नै श्रीलङका पराजित

२०७८ असार ११ शुक्रबार ०९:४८:०० मा प्रकाशित

काठमाडौं । इङल्यान्डले एक खेल अगावै श्रीलङका विरुद्धको टि ट्वान्टी सिरिज जितेको छ । घरेलु टोली इङल्यान्डले तीन खेलको टि ट्वान्टी सिरिज २–० ले आफ्नो कब्जामा पारेको हो । गएराती भएको दोस्रो टि ट्वान्टीमा इङल्यान्डले श्रीलङकालाई डकवर्थ लुइस नियम अनुसार ५ विकेटले पराजित गर्यो ।

कार्डिफमा टस जितेर ब्याटिङ गरेको श्रीलङकाले सामान्य प्रदर्शन गर्यो । उसले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ११ रन जोडेको थियो । तीन खेलाडी बाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । तेस्रो विकेटका लागि कुशल मेन्डिस र कुशल परेराले ५० रनको साझेदारी गरेपछि श्रीलङकाले १ सय रनको आँकडा पार गर्यो ।

मेन्डिसले ३९ र परेराले २१ रन जोडे । मार्क उड र आदिल रासिदले २–२ विकेट लिए । जवाफमा इङल्यान्डले वर्षा प्रभावित भएपछि  १८ ओभरमा पाएको १ सय ३ रनको लक्ष्य १६ दशमलब १ वलमा ५ विकेट गुमाएर पुरा गर्यो । उसले पनि खराब सुरुवात गरेको थियो ।

इङल्यान्ड ३६ रन चार विकेटको नाजुक स्थितिबाट खेलमा फर्किएको हो । जोनी ब्रेस्टोले खाता खोल्न सकेनन् । डेविड मालान ४, कप्तान इयोन मोर्गन ११ र जेसोन रोय १७ रनमा आउट भएका थिए । तर लियाम लिभिङस्टोनले २९, साम बिलिङले २४ र साम करणले १६ रन जोडेपछि इङल्यान्डले जीत हात पार्दै उपाधी आफ्नो पक्षमा पार्यो ।

पहिलो खेलमा इङल्यान्ड ८ विकेटले विजयी भएको थियो । तेस्रो टि ट्वान्टी शनिबार हुनेछ ।  

ताजा खबर