कोपा अमेरिका: उरुग्वे र पाराग्वे क्वाटर फाईनलमा

२०७८ असार ११ शुक्रबार ०९:२६:०० मा प्रकाशित

काठमाडौं । उरुग्वे र पाराग्वे कोपा अमेरिकाको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बोलिभियालाई २ गोल निल लगाएर उरुग्वे अन्तिम आठमा  प्रवेश गरेको हो । उरुग्वेको तीन खेलमा यो पहिलो जीत हो । यसअघि उसले एकमा बराबरी र एकमा हार बेहोरेको थियो ।

आज विहान भएको खेलमा उरुग्वेका लागि लुइस स्वारेजले सुरुवाती अग्रता दिलाउने मौका गुमाएका थिए । ३६ औं मिनेटमा उनको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो । तर उसले आत्मघाती गोल मार्फत अग्रता बनायो ।

४० औं मिनेटमा बोलिभियाका जाइरो क्विन्टेरोसले आफ्नै पोस्टमा गोल गरे । उरुग्वेका जर्जियन दा रास्कायताको क्रसलाई क्लियन गर्ने क्रममा उनी र गोलकिपर कार्लोस लाम्पेबीच तालमेल नहुँदा गोल हुन पुगेको थियो । स्वारेजले दोस्रो हाफको सुरुमै अर्को गोल गर्ने मौका सिर्जना गरेका थिए । उनको फ्रि किक गोलकिपर लाम्पेले बचाए ।

७९ औं मिनेटमा म्यानचेस्टर युनाइटेडबाट खेल्ने स्ट्राइकर इडिसन कभानीले फाकुन्डो टोरेसको क्रसमा गोल गरेपछि उरुग्वेले जारी कोपामा पहिलो जीत निकाल्यो । राष्ट्रिय टिमका लागि कभानीको यो ५२ औं गोल हो । अहिलेसम्म उनले देशका लागि १ सय २१ खेल खेलेका छन ।

आजै भएको अर्को खेलमा पाराग्वे चिली माथि २–० गोलकै जीत हात पार्दै अन्तिम ८ मा पुग्यो । पाराग्वेका लागि ३३ औं मिनेटमा गोल गरेका थिए । उनलाई मिगुएल अल्मिरोनले पास दिएका हुन् । ५८ औं मिनेटमा मिगुएल आफैंले पेनाल्टिमा गोल गरेपछि पाराग्वेले चिलीलाई सहजै पराजित गर्यो ।

आजको खेलपछि समूह एबाट क्वाटरफाइनल पुग्ने चारै टिमको टुंगो लागेको छ । यो समूहबाट अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वेले क्वाटरफाइनलमा स्थान बनाए । शीर्ष स्थानको अर्जेन्टिनाको ३  खेलबाट ७ अंक छ । दोस्रो स्थानमा रहेको पाराग्वेको ६ र चिली चार खेलबाट पाँच अंक सहित तेस्रो स्थानमा छ ।

चिलीले समूहका चारै खेल खेल्दा एकमा जीत, दुइमा बराबरी र एक खेलमा हार बेहोर्यो । उरुग्वे  तीन खेलबाट चार अंक जोड्दै चौथो स्थानमा छ । लगातार तेस्रो हारपछि बोलिभिया प्रतियोगिताबाट बाहिरियो ।

समूहको अन्तिम खेलमा उरुग्वेले पाराग्वे, अर्जेन्टिनाले बोलिभयिा संग खेल्नेछ ।

 

ताजा खबर