देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालन

२०७८ असार ११ शुक्रबार ०९:१२:०० मा प्रकाशित

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेका हुन् ।

पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती–४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट सञ्चालन गरिएको नगरप्रमुख थापाले जानकारी दिए। सो मानवनिर्मित तालमा विसं २०७८ वैशाख १ गतेदेखि वाग्मती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो भने बिहीबारदेखि जेटबोट कुदाइएको नगरप्रमुख थापाले जानकारी दिए।

सो ताल प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक हजारौँ आन्तरिक पर्यटक आउने गरेको पाइएको छ । नगरप्रमुख थापाको विशेष पहलमा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो तालकोे कूल गहिराइ ३५ फिट रहेको छ । तालको कूल लागत रु ६० करोड निर्धारण गरिएको छ भने हालसम्म रु ३७ करोड लगानी भइसकेको उपप्रमुख लीलाकुमारी मोक्तानले बताईन् ।

गर्मी महिनामा मोटरबोट चढेर गर्मी भगाउन र मनोरञ्जन लिन तथा बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक उक्त तालमा आउने गरेका छन् । लगभग १५ देखि १८ मिनेटसम्मको मोटरबोटको यात्रा सकिँदा पोखराको फेवातालभन्दा बढी मनोरञ्जन हुने पर्यटकको भनाइ छ । यस तालमा हंसराज प्रजातिको हाँससमेत पालिएको छ । उक्त हाँसले तालमा पौडी खेलेको दृश्य देख्दा मनै लोभिने गरेको पर्यटक बताउँछन् । तालमा केही समयपछि माछासमेत पालन गरिने नगरपालिकाले जनाएको छ । भरत ताल निर्माणको सम्पूर्ण काम करिब दुई महिनाभित्रमा सकिने नगरप्रमुख थापाले सुनाए । रासस

ताजा खबर