मेलम्चीबासीका लागि त्यो कालोरात

२०७८ असार ११ शुक्रबार ०९:०३:०० मा प्रकाशित

                        मेलम्ची । अविरल वर्षा भइरहे पनि मेलम्चीबासीको दिनचर्या हरेक दिन जस्तै थियो । गएको मंगलबार साँझ परेसँगै मेलम्चीबासीले एउटा सूचना पाए । त्यो थियो मेलम्ची खानेपानी आयोजनाको ड्याम भन्दा केही माथि नाकुते भन्ने स्थानमा पहिरोले थुनिएको छ । त्यो खबरले मेलम्चीबासीमा डर पैदा गर्यो । उनीहरुले भ्याएसम्म छरछिमेकलाई खबर पनि गरे । बाढिले खोला नजिक मात्र क्षति पुर्याउला भन्ने उनीहरुको अनुमान थियो । तर पनि आफ्ना घर छाडेर झिटी गुन्टा बोकेर अधिकांश मानिस सुरक्षित स्थानको खोजीमा निस्किए । बिडम्बना रातको २ बज्दा मेलम्ची बजार नजिकको पुल खोलाले बगायो । खोला क्रमशः बजारतिर सर्दै आयो र घरघरमा छिर्न थाल्यो । रातको समयमा बजार डुबानमा पर्न थालेपछि उनीहरु त्राहि त्राहि बने । मेलम्चीबासीको लागि त्यो कालोरात अविस्मरणीय बन्यो ।

‘यतिहोला भन्ने त सोचेका पनि थिएनौं । जब राती २ बजे पछि बजार नजिकको पुल खोलाले बगायो । लेदो सहितको खोला बजार छिर्यो त्यस पछिको समय त डरै डरले बित्यो । कहिले उज्यालो होला भन्ने मात्र भइरह्यो । जब उज्यालो भयो त्यति खेर बजारको तल्लो क्षेत्र सबै डुबान परिसकेको थियो । नदि किनारका खेतको नामा निसाना थिएन । साना घरहरु सबै डुबी सकेका थिए भने अग्ला घरका माथिल्लो तलामात्र देखिन्थो’ स्थानीय रामहरी दुलाले सुनाए ।

‘२०७२ सालको भूकम्पकै सम्झना गरायो यो बाढीले । गड्याङगुडुङ आवाज, बजार नै गन्हाउने लेदोले भरिएको खोला सबै मानिसलाई त्राहि–त्राहि भए । यो कस्तो विपद आयो’ दुलाले भने । हताहती हुनेहरुलाई स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा उद्धार गरिएको दुलालको भनाई थियो ।

मेलम्ची खानेपानीपानी भन्दा केही माथिको पहिरो गएको खबर पहिल्यै आउनाले पनि धेरैको ज्यान बाँचेको स्थानीयको भनाई छ । ‘मेलम्ची माथितिर खोलाका तटमा १० ओटा त वस्ती नै छन् । तिनउँ बेसी, क्युलबेसी, चनौटे बजार, ग्यालथुम, शेरा, तालामराङ बजार, नेपाने बस्ती, बाउनेपाटी पूर्ण रुपमा प्रभावित भएका छन्  । तिपेनी बजार, आइतबारे डयाम, खाल्डेखोला बजार पूर्णरुपमा बाढिले क्षति पुर्याएको छ । पुलहरु बगायो पक्की पुल नै ५ ओटा बगाए पछि पाँचपोखरी, नवलपुर हुँदै चौतारा जाने बाटो बन्द भएका छन् । नुवाकोटको पूर्वी भाग तथा सिन्धुपाल्चोकको पश्चिम सम्म ठूलो प्रभाव परेको छ’ स्थानीय मधुसुदन सिग्देलले बताए । 

बाढिका कारण विद्युत सेवा अवरुद्ध छ भने संचार सधान टेलिफोन बन्द छ । पुलहरु बगाएका कारण पैदल जान सक्ने अवस्था पनि नरहेको सिग्देल बताउँछन् । जसका कारण नदिका तटमा रहेका बस्तीहरुका बाढि पिडितको अवस्थाबारे यसै भन्न नसिकने अवस्था रहेको सिग्देल बताउँछन् । नदि किनाराका घरहरु सबै पुरिँदा सयौंको संख्यामा बाढिबाट प्रभावित बनेका हुन सक्ने उनको आँकलन छ । 

बुधबारसम्ममा बाढिमा परि ७ जनाको मृत्यु भएको खबर पुष्टि भएको छ । मेलम्ची खानेपानी, नेशनल हाइड्रोपावरको ड्याम लगायतका क्षेत्रमा क्षति पुगेको छ । ती आयोजनामा काम गर्ने के कति हताहति भए भन्ने खुल्न सकेको छैन । मेलम्ची बजारका बाढि पिडितलाई स्थानीय कालीजंग गण तथा इन्द्रावती मावि विद्यालय भवनमा गरि ६ सय जना राखिएको स्थानीय नेता आइतसिंह तामाङले बताए । केन्द्रीय स्तरका नेताहरु प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका थिए ।  

ताजा खबर