कोपा अमेरिका: ९ अंक जोडेर समूहकै शीर्ष स्थानमा ब्राजिल

२०७८ असार १० बिहीबार १०:२९:०० मा प्रकाशित

काठमाडौं । कोपा अमेरिकामा घरेलु टोली ब्राजिलले लगातार तेस्रो जीत हात पारेको छ । आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बिया माथि दुइ एक गोलको जीत हात पार्यो । एक शून्यले पछि परेको ब्राजिलले खेल सकिन १२ मिनेट बाँकी हुँदा पुनरागमन गरेको थियो । दशौं मिनेटमै कोलम्बियाका लुइस डियाजले उत्कृष्ट एरोबिक किक मार्फत गोल गरेका  थिए । 

पछिल्ला ८  खेलमा पहिलो पटक ब्राजिल एक शून्यले पछि परेको हो । ७८ औं मिनेटमा रोबर्टो फिरमिनोको विवादास्पद गोल मार्फत ब्राजिलले खेल बराबरी गर्यो । नेइमारले प्रहार गरेको वल रेफ्रि नेस्टोर पिटानाको हातमा लागेको थियो । तर उनले खेल नरोकी अघि बढाए । सोही वलमा ब्राजिलले गोल गरेको थियो । कोलम्बियाले भने रेफ्रिले खेल रोक्नुपर्ने भन्दै असन्तुष्टि ब्यक्त गर्यो । दश मिनेट थप गरिएको इन्जुरी समयको अन्तयमा क्यासिमेरोले गोल गरेपछि ब्राजिलले अपराजित यात्रालाई निरन्तरता दियो ।

ब्राजिल तीन खेलबाट ९ अंक जोड्दै समूह बी को शीर्ष स्थानमा छ । चार खेलबाट चार अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा छ ।

आजै भएको समूहको अर्को खेलमा पेरुले इक्वेडरलाई २–२ गोलको बराबरीमा रोक्यो । २३ औं मिनेटमा पेरुका रेनातो तापियाको आत्मघाती र इन्जुरी समयमा आइत्रोन प्रिसियाडोले गोल गरेपछि इक्वेडर दुइ शून्यले अघि थियो । तर पेरुका लागि ४९ औं मिनेटमा ज्यानलुका लापादोला र ५४ औं मिनेटमा आन्द्रे करिल्लोले गोल गरेका थिए ।

 

ताजा खबर