पेनाल्टी किक बचाउने किपरले नै आत्मघाती गोल गरेपछि !

२०७८ असार १० बिहीबार १०:१९:०० मा प्रकाशित

काठमाडौं । स्पेन समूहको अन्तिम खेलमा स्लोभाकिया माथि ५–० गोलको फराकिलो जीत हात पार्दै युरोकपको नक आउट चरण प्रवेश गरेको छ । सुरुवाती दुइ खेलमा बराबरी खेलेको स्पेनको जारी युरोमा यो पहिलो जीत हो । जीतपछि स्पेन तीन खेलबाट ५ अंक जोड्दै समूह इ को उपविजेता बन्यो । 

स्वीडेन समूह विजेताका रुपमा अन्तिम १६ मा पुग्यो । रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड भने समूह चरणबाटै बाहिरियो ।

सेभिलमा भएको खेलमा पूर्व च्याम्पियन स्पेनले स्लोभाकिया विरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्यो । १२ औं मिनेटमा अल्भारो मोराटाको पेनाल्टि स्लोभाकियाका गोलकिपर मार्टिन दुब्रार्रकाले बचाए । तर ३० औं मिनेटमा उनैले आत्मघाती गोल मार्फत स्पेनलाई अग्रता दिलाए । युरोको एकै खेलमा पेनाल्टि रोक्ने र आत्मघाती गोल गर्ने मार्टिन पहिलो गोल किपर बनेका छन् । पाब्लो साराबियाको प्रहार पन्च गर्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एमेरिख लापोर्तले टिमका लागि दोस्रो गोल थपे । स्पेनका लागि चार खेल खेलेका उनको यो पहिलो गोल हो । ५६ औं मिनेटमा साराबिया, ६७ औं मिनेटमा फरान टोरेस र ७१ औं मिनेटमा स्लोभाकियाका युआइ युक्चाले आत्मघाती गोल गरेपछि लुइस इनरिकेको टोली ५–० को प्रभावशाली जीत हात पार्न सफल भयो । यसै समूहको अर्को खेलमा स्विडेनले पोेल्यान्ड माथि तीन दुइ गोलको रोमान्चक जीत हात पार्यो ।

एमिल फोर्सबर्गले दोस्रो र  ५९ औं मिनेटमा गोल गर्दै स्विडेनलाई दुइ शून्यले अघि बढाएका थिए । ६१ र ८४ औं मिनेटमा पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएका थिए । उनले सुरुमै गोल गर्ने सुनौलो मौका गुमाएका थिए । जुन पोलिस टिमका लागि महंगो सावित भयो । इन्जुरी समयमा सब्सिच्यृट भिक्टोर क्लासेनले गोल गर्दै स्विडेनलाई जीत दिलाएका थिए । स्विेडन सन २००४ पछि पहिलो पटक युरोको नक आउट चरण पुगेको हो । तीन खेलबाट मात्र १ अंक् जोडेको पोल्यान्ड  समूह चरणबाटै बाहिरियो । स्विडेनले तीन खेलबाट सात अंक जोड्यो ।

अब अन्तिम १६ मा स्विडेनले युक्रेन र स्पेनले क्रोएशियासँग खेल्नेछ । अन्य खेलमा वेल्स डेनमार्क, अस्ट्रिया इटाली र नेदरल्यान्डस चेक रिपब्लिक बीच प्रतिस्पर्धा हुनेछ ।

ताजा खबर