रोचक प्रतिष्पर्धावीच बराबरीमा रोकिए पोचुगल र फ्रान्स, दुबै टिम नकआउटमा

२०७८ असार १० बिहीबार ०९:०४:०० मा प्रकाशित

काठमाडौं । साविक विजेता पोर्चुगल उत्कृष्ट तेस्रो टिमका रुपमा युरोकपको नक आउट चरणमा प्रवेश गरेको छ । गएराती भएको समूहको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग दुइ दुइ गोलको बराबरी खेल्यो । 

फ्रान्सले समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्यो । अघिल्लो संस्करणको फाइनलको रिप्लेका रुपमा रहेको यो खेल अपेक्षा गरिए अनुसार नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा अग्रता फर्नान्डो सान्तोषको टोली पोर्चुगलले लियो । ३१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोेले पेनाल्टिमा गोल गरे । फ्रान्सका गोलकिपर ह्युगो लोरिसले फ्रि किक वललाई पञ्च गर्ने क्रममा डेनिलो परेराको टोउकोमा लागेपछि रेफ्रिले पोर्चुगललाई पेनाल्टि दिएका थिए । जसमा रोनाल्डोले विना गल्ति गोल गरे ।

फ्रान्स विरुद्ध रोनाल्डोको यो पहिलो गोल हो । तर पोर्चुगलको अग्रता पहिलो हाफमै गुम्यो । इन्जुरी समयमा करिम बेन्जिमाले पेनाल्टिमा नै गोल गरे । पोर्चुगलका नेल्सन सेमेडोले किलियन एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टि पायो । बेन्जिमाको राष्ट्रिय टिमका लागि यो सन् २०१५ , अक्टोबर यताको पहिलो गोल  हो । उनी यहि युरो मार्फत करिब ६ वर्ष पछि फ्रान्स टिममा फर्किएका हुन् ।

दोस्रो हाफको सुरुमै फ्रान्सले पोर्चुगल विरुद्ध दुइ एकको अग्रता बनायो । बेन्जिमाले पल पोग्बाको पासमा ब्यक्तिगत दोस्रो गोल गरे । तर ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टिमा गोल गरेपछि खेल दुइ दुइको बराबरीमा सकियो । यो नतिजा पछि फ्रान्स ३ खेलबाट ५ अंकका साथ समूह इ को विजेता बन्यो । पोर्चुगल चार अंक सहित तेस्रो स्थानमा रह्यो । अन्तिम १६ मा पोर्चुगलको भेट बेल्जियमसँग हुनेछ । फ्रान्सले स्वीटजरल्यान्डसँग खेल्नेछ । 

ताजा खबर