युरो कप: आफ्नै मैदानमा तीन गोल खाएर स्कटल्याण्ड हार्यो, क्रोएशिया नकआउटमा

२०७८ असार ९ बुधबार ०८:५१:०० मा प्रकाशित

काठमाडौं । क्रोएशिया समूह डीको उपविजेताका रुपमा युरोकपको नक आउट चरण प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा क्रोएशियाले स्कटल्यान्ड माथि ३–१ गोलको प्रभावशाली जीत हात पारेको हो । क्रोएशियाका लागि कप्तान लुका मोड्रिचले उत्कृष्ट प्रदर्शन गरे ।

स्कटल्यान्डको घरेलु मैदान ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा उत्रँदा क्रोएशिया र स्कटल्यान्डकोे दुइ खेलबाट समान एक अंक थियो । नक आउट चरण पुग्न दुवैलाइ जित्नै पर्ने दवाव थियो । सोही अनुरुप विश्वकप उपविजेता क्रोएशियाले उत्कृष्ट सुरुवात गर्यो । १७ औं मिनेटमा निकोला भ्लासिचले गोल गरे । उनले इभान पेरिसिचको पासको सदुपयोग गरेका हुन् ।

तर क्रोएशियाको खुशी लामो समय टिकेन । ४२ औं मिनेटमा क्यालम मेकग्रेगरले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । उनी स्कटल्यान्डका लागि सन १९९६ , १८ जुन पछि युरोमा गोल गर्ने पहिलो खेलाडी हुन् । दोस्रो हाफमा क्रोएशिया सशक्त रुपमा प्रस्तुत भयो । ६२ औं मिनेटमा मोड्रिचले आकर्षक गोल गरेपछि क्रोएशियाले फेरी अग्रता बनायो । योसँगै मोड्रिच युरोमा गोल गर्ने क्रोएशियाका सवैभन्दा कान्छा खेलाडी बनेका छन् । उनी सन् २००८ मा अस्ट्रिया विरुद्ध गोल गर्दा २२ वर्ष २७३ दिनका थिए । गएराती स्कटल्यान्ड विरुद्ध गोल गर्दा कोड्रिच ३५ वर्ष २८६ दिनका थिए ।

७७ औं मिनेटमा पेरिसिचले गोल गरेपछि क्रोएशिया अन्तिम १६ मा स्थान बनाउन सफल भयो । उसले तीन खेलबाट चार अंक जोड्दै समूहको दोस्रो स्थान प्राप्त गर्यो । पहिलो खेलमा इङल्यान्डसँग पराजित भएको क्रोएशियाले दोस्रो खेलमा चेक रिपब्लिकलाई हराएको थियो । स्कटल्यान्ड भने पहिलो पटक मुख्य प्रतियोगिताको नक आउट चरण पुग्न फेरी चुक्यो । उसले विश्वकप र युरो गरी एघार पटक फाइनल चरण खेलेको छ । तर दुवैमा अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन ।   

ताजा खबर