अष्ट्रिया पहिलोपटक युरोकपको नकआउट चरणमा

२०७८ असार ८ मंगलबार ०९:४२:०० मा प्रकाशित

काठमाडौं । अस्ट्रिया समूहको आफ्नो अन्तिम खेलमा युक्रेनलाई एक शून्य गोलले पराजित गर्दै पहिलो पटक युरोकपको नक आउट चरणमा प्रवेश गरेको छ । समूह सीमा रहेको अस्ट्रियाले तीन खेलबाट ६ अंक जोड्दै उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाएको  हो ।

बुखारेस्टस्थित नेशनल एरिनामा भएको खेलमा अस्ट्रियाले २१ औं मिनेटमा अग्रता लिएको थियो । अलाबाको कर्नरमा क्रिस्टोफ बाउमगार्टनरले गोल गरेका थिए । यहि एकमात्र गोल अस्ट्रियालाई समूह चरण पार गर्न निर्णायक बन्यो । उत्कृष्ट प्रदर्शन गरेको अस्ट्रियाले थप गोल गर्ने मौकाको सदुपयोग गर्न भने सकेन । युक्रनेले गरेको प्रयास पनि सफल भएन ।

यो नतिजा पछि युक्रेन तीन अंकका साथ तेस्रो स्थानमा छ । उसको पनि उत्कृष्ट तेस्रो टोलीका रुपमा नकआउट पुग्ने संभावना कायमै छ । त्यसका लागि उसले समूहका अरु खेलको नतिजा कुर्नुपर्नेछ ।  अस्ट्रियाको यो तेस्रो युरोकप हो । यसअघि उसले सन २००८ र २०१६ मा समुह चरण पार गर्न सकेको थिएन् । जारी युरोमा अस्ट्रियाले आफ्नो पहिलो खेलमा नर्थ मेसिडोनियालाई पराजित गरेको थियो भने नेदरल्यान्डससँग हार बेहोरेको थियो ।

नेदरल्यान्डस समूह सीको विजेता बनेको छ । यसअघि नै अन्तिम १६ मा पुगेको डच टोलीले गएराती मेसिडोनियालाई ३–० गोलले हरायो । योसँगै उसले समूह चरणमा शतप्रतिशत अर्थात तीन खेलबाट ९ अंक जोड्यो । नेदरल्यान्डसको जीतमा २४ औं मिनेटमा डिपाये माम्फिस र ५१ र ५८ औं मिनेटमा जर्जिनो विनाल्डमले गोल गरेका थिए ।

क्वाटरफाइनल प्रवेशका लागि अस्ट्रियाले इटालीको सामना गर्नेछ । नेदरल्यान्डसको प्रतिद्धन्दीको भने टुंगो लागिसकेको छैन । 

ताजा खबर