कोरोनाको नयाँ डेल्टा भेरियन्ट थप सङ्क्रामक हुने डाक्टरको चेतावनी

२०७८ असार ८ मंगलबार ०९:१७:०० मा प्रकाशित

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको नयाँ भेरियन्ट थप सङ्क्रामक हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनामध्ये नौ वटा थप उत्परिवर्तन ‘के ४१७ एन’ म्युटेसन भेटिएको जनाएको छ । टेकु अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले नयाँ म्युटेसनलाई सामान्य नलिन सबैमा आग्रह समेत गरेका छन् ।

‘नयाँ भेरियन्ट डेल्टा भेरियन्टबाट पनि थप म्युटेसन भएको बुझौं, अहिलेको लागि । यसको लागि नमूना कस्तो खालको बिरामी वा संक्रमिततबाट लिइएको हो । भेन्टिलेटरबाट वा सबै कडा–कडा भएकाहरुबाट लिइएको हो कि सामान्य भएको मानिसहरुबाट लिएइको हो त्यो स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छैन,’ उनले भने, ‘त्यसबारे जानकारी दिइएको भए हामीलाई यसबारे बुझ्न सजिलो हुन्थ्यो । तर, त्यसबारे त्यति जानकारी छैन । तर, डेल्टा भेरियन्ट कडा खालको छ भन्ने सबैलाई थाहा भएकै छ । थप म्युटेसन भएपछि यो अझ कडा भयो कि भनेर भन्न सजिलो छैन । किन भने यसबारे विवरण थाहा छैन ।’

उनका अनुसार पहिला डेल्टा भेरियन्ट १० जनामा पाँच जनालाई सिकिस्तै बनाउँथ्यो, यो ५० प्रतिशत भयो । अब १० जनामा सात जनालाई सिकिस्त बनाउँछ अहिलेको नयाँले भन्यो भने ७० प्रतिशत भयो भने यो डेल्टाभन्दा अझ कडा खालको हो भन्ने बुझ्नुपर्छ ।

‘यसबारे आफूहरुसँग विवरण नभएकाले तत्काल यसै भन्न गाह्रो हुन्छ,’ उनले भने, ‘तर, डेल्टा भेरियन्टबाटै छुटेको हुनाले नयाँ म्युटेसन सजिलो अथवा नर्मल होला भन्न सकिँदैन । त्यसैले यो कडै खालको छ भन्न सकिन्छ,’ उनले भने। तर, यो कति कडा र यसले कस्तो खालको समस्या ल्याउँछ भन्ने कुराको विस्तृत रुपमा अध्ययन गरेपछि मात्र थाहा हुने उनले बताए।

‘यसबारे जानकारी दिन अनुसन्धान गर्नुपर्छ । त्यसैले यो कस्तो खालको म्युटेसन हो भन्न केही समय कुर्नुपर्छ,’ डा. पुनले भने, ‘तर, डेल्टाबाट थप म्युटेसन भएको बुझिने हुनाले पक्कै पनि कडा थियो भन्ने हुन्छ । दोस्रो लहरमा जसरी नेपालीमा कडा खालको सङ्क्रमण देखिएको थियो । जसले धेरै अप्ठ्यारो अवस्था बनाएको थियो । यसले गर्दा यदि यो म्युटेसन यसमा सामेल रैछ भने यसलाई पनि सामान्य मान्नु हुँदैन ।’ 

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार नयाँ म्युटेसनलाई एवाई.१ नाम दिएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको छ ।

वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमूना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो । मन्त्रालयले यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको जनाएको छ । गोरखापत्र दैनिकका अनुसार, यी भेरियन्टहरु बढी सङ्क्रामक तथा सबै उमेर समूहका मानिसहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयले जनाएको छ ।

ताजा खबर