वेल्स नकआउट चरणमा, इटाली बन्यो समूह विजेता

२०७८ असार ७ सोमबार १२:०८:०० मा प्रकाशित

काठमाडौं । वेल्स समूहको अन्तिम खेलमा इटालीसँग पराजित भएपनि युरोकपको नक आउट चरणमा पुगेको छ । गोल अन्तरका आधारमा स्विटजरल्यान्डलाई पछि पार्दै ग्यारेथ वेलको टोली वेल्सले समूह ए को उपविजेताका रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको  हो । यसअघिनै नक आउट पुगिसकेको इटाली यो जीतपछि समूह विजेता बन्यो ।

रोममा गएराती भएको खेलमा इटालीले आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा वेल्स माथि एक शून्य गोलको जीत हात पार्यो । जारी युरोमा उच्च प्रर्दशन गरिरहेको इटालीले ३९ औं मिनेटमा अग्रता लिएको थियो । माटियो पेस्सिनाले मार्को भेराटीको फ्रि किकमा गोल गरेका थिए । फेड्रिको कियजा र आन्द्रे बेलोटीले गोल गर्ने अवसर गुमाउदा इटाली पहिलो हाफमा अग्रता बढाउन असफल भएको थियो । 

५५ औं मिनेटमा वेल्स दश खेलाडीमा समेटियो । उसका इथान अम्पाडु सिधै रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । दश खेलाडीमा झरेपनि वेल्सले इटालीलाइ बाँकी समयमा गोल गर्न भने  दिएन । वेलले केही राम्रा मौकाको सदुपयोग गर्न सकेन । इटालीले समूहका तिनै खेलमा जीत हात पार्दै नौ अंकका साथ शतप्रतिशत नतिजा निकाल्यो । उसले टर्की र स्विटजरल्यान्ड दुवैलाई समान तीन शुन्य गोलले हराएको थियो । इटालीले लगातार ३० खेल देखीको अपराजित राष्ट्रिय कीर्तिमान बराबरी गरेको छ ।

यसअघि सन १९३०  मा भिटोरियो पोजोको प्रशिक्षणमा इटालीले लगातार ३० खेल जितेको कीर्तिमान बनाएको थियो । इटालीले पछिल्ला दश खेलमा एक गोलपनि खाएको छैन । पछिल्लो पटक उसले २०२० अक्टोबरमा नेशन्स लिग अन्तगरत नेदरल्यान्डसँग एक एक एक एक गोलको बराबरी खेलेको थियो । त्यसयता अजुरी टिमले गोल नखाएको १ हजार मिनेट भएको छ । वेल्सले जारी युरोको समूहको पहिलो खेलमा स्विटजरल्यान्डसँग एक एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा टर्कीलाई दुइ शून्य गोलले पराजित गर्यो । तीन खेलबाट चार अंक जोड्दै वेल्स लगातार दोस्रो पटक युरोको अन्तिम १६ मा पुग्न सफल भयो ।

 

ताजा खबर