कोपाअमेरिका: पेरुको जितमा आत्मघाती गोल निर्णायक

२०७८ असार ७ सोमबार ११:५१:०० मा प्रकाशित

काठमाडौं । कोपा अमेरिकामा आज भएको समूह बी को खेलमा पेरुले कोलम्बियालाई एकका विरुध्द दुइ गोलले पराजित गरेको छ । यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेले । पेरुको जीतमा आत्मघाती गोल निर्णायक बनेको थियो ।

सन् २०१९ मा कोपाको फाइनल पुगेपनि त्यसयता भएका १२ खेलमा केवल दुइमा जीत निकालेको पेरुले उत्कृष्ट सुरुवात गर्यो । १७ औं मिनेटमा सर्जियो पिनाको गोल मार्फत अग्रता लिएको थियो ।  पिनाले कोलम्बियाको कोपामा सात खेल देखिको क्लिन सिटमा पनि पूर्णविराम लगाइदिए । ५३ औं मिनेटमा  कोलम्बियाका मिगुएल बोर्जाले पेनाल्टि गोल मार्फत खेल बराबरी गरे । तर ६४ औं मिनेटमा कोलम्बियाका यारी मिनाले आफ्नै पोस्टमा गोल गरेपछि पेरुले दुइ एकको जीत हात पारेको हो ।

जारी कोपामा पेरुको यो पहिलो जीत र कोलम्बियाको पहिलो हार हो ।

यस्तै भेनेजुएलाले दुइ पटक पछि पर्दै खेलमा पुनरागमन गरेको थियो । ३९ औं मिनेटमा आइत्रोन प्रिसियाडोले गोल गर्दै इक्वेडरलाइ अग्रता दिलाएका थिए । ५१ औंं मिनेटमा एडसन क्यास्टिलोले बराबरी गोल फर्काए । ७१ औं मिनेटमा इक्वेडरलाई सब्सिच्युट गोन्जालो प्लाटाले गोल गर्दै खेलमा फर्काए । इन्जुरी समयमा रोनाल्ड हर्नान्डेजले गोल गरेपछि  भेनेजुएलाले रोमाञ्चक बराबरी गरेको हो । योसँगै  इक्वेडरले अंकको खाता खोलेको छ । कोलम्बिया तीन खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको पेरु तीन अंक सहित तेस्रोमा छ । दुइ खेलबाट ६ अंक बटुलेको साविक विजेता ब्राजिल शीर्ष स्थानमा छ । भेनेजुएला चौथो र इक्वेडर पाँचौ स्थानमा छ ।

 

ताजा खबर