आत्मघाती गोलले आत्तिएको पोर्चुगल टिकेन जर्मनीसँग

२०७८ असार ६ आइतबार ०९:१४:०० मा प्रकाशित

काठमाडौं । युरोकपमा जर्मनीले पोर्चुगललाई दुइ गोलका विरुध्द चार गोल गरेर जीत हात पारेको छ । साविक विजेता पोर्चुगलले सुरुवाती अग्रता लिएपनि जर्मनीको उच्च स्तरको प्रदर्शलाई रोक्न सकेन ।

म्युनिखस्थित एलियान्स एरिनामा भएको रोमाञ्चक र प्रतिस्पर्धामा सुरुमा पोर्चुगलले गोल गरेको थियो । पाँचौ मिनेटमा रोविन गोसेन्सले गोल गरेपनि अफसाइड भएको थियो । १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले डिएगो जोटाको पासमा गोल गरेपछि पोर्चुगल एक शून्यले अघि रहेको थियो । जर्मनी विरुद्ध रोनाल्डोको यो पहिलो गोल हो । युरोकपमा उनको १२ औं गोल हो । तर पोर्चुगलको खुशी लामो समय टिकेन । पोर्चुगलले चार मिनेट भित्र दुइ आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा नियन्त्रण जमायो ।

३५ औं मिनेटमा रुवेड डायस र ३९ औं  मिनेटमा रफाल गुरेरोले आफ्नै पोस्टमा गोल गरेपछि पोर्चुगलले आफ्नो हात बाट खेल फुत्कायो । दोस्रो हाफमा सन् २०१४ को विश्व च्याम्पियन जर्मनीले झन आक्रामक फुटवल  खेल्यो । ५१ औं मिनेटमा काइ हाभर्टस र ६० औं मिनेटमा गोसेन्सले गोल गरे । ६७ औं मिनेटमा जोटाले गोल फर्काएपनि पोर्चुगललाई हारबाट बचाउन सकेनन् । 

योसँगै पोर्चुगलको सात खेल देखिको अपराजित यात्रामा पनि पूर्ण विराम लगायो । जर्मनीले लगातार पाँचौ पटक पोर्चुगल माथि जीत हात पारेको हो । पोर्चुगलको जारी युरोमा यो पहिलो हार हो । यसअघि उसले हंगेरीलाई ३–० ले हराएको थियो । फ्रान्ससँग एक शून्यले पराजित भएको जर्मनीले आफ्नो दोस्रो खेलमा शानदार पुनरागमन गर्न सफल भयो ।

समूह एफमा फ्रान्स दुइ खेलबाट ४ अंक सहित शीर्ष स्थानमा छ ।  तीन अंक जोडेको जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ । हंगेरी एक अंकका साथ चौथो स्थानमा छ  ।   

ताजा खबर