कोपाअमेरिका: मेसिको सुन्दर पासले अर्जेन्टिना बिजयी

२०७८ असार ५ शनिबार १०:५०:०० मा प्रकाशित

काठमाडौं । गुइडो रोद्रिगेजले पहिलो हाफमा गरेको गोलको मदतमा अर्जेन्टिनाले कोपा अमेरिकामा उरुग्वेलाई एक शून्य गोलले पराजित गरेको छ । 

आज विहान भएको खेलमा रोद्रिगेजले १३ औं मिनेटमा लियोनल मेसीको पासमा हेडर गोल गरेका थिए । एघारौं खेल खेल्दै रोद्रिगेजको राष्ट्रिय टिमका लागि यो पहिलो गोल हो । उनले २०१९ पछि पहिलो पटक सुरुवाती एघारमा स्थान बनाएका थिए । उनले आफ्नो भूमिकामा न्याय गरे । अर्जेन्टिनाले तीन खेलपछि जीत हात पारेको हो ।

यसअघि विश्वकप छनोटका दुइ र कोपाको एक गरी तीन खेलमा बराबरीको नतिजा निकोलको थियो । कोपाको आफ्नो पहिलो खेलमा अर्जेन्टिना चिलीसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । लुइस स्वारेज र इडिसन कभानीको टोली उरुग्वेले गोल फर्काउन नसक्दा रोद्रिगेजको एकमात्र गोल अर्जेन्टिनालाई तीन अंक बटुल्न काफी भयो । कोपामा उरुग्वेले अर्जेन्टिनालाई सन् १९८९ यता पराजित गर्न सकेको छैन । अर्जेन्टिना पछिल्ला १५ खेल यता अपराजित छ । जीतपछि अर्जेन्टिना दुइ खेलबाट चार अंक जोड्दै समूह बी को शीर्ष स्थानमा छ । 

उरुग्वेको जारी कोपामा यो पहिलो खेल हो । चिली चार अंक सहित दोस्रो स्थानमा छ । आज विहान भएको खेलमा चिलीले बोलिभियामाथि एक शून्य गोलको जीत हात पारेको थियो । चिलीका लागि एकमात्र निर्णायक गोल १० औं मिनेटमा बेन बेरेनटनले गरेका थिए । बेनको चिलीबाट यो डेब्यु खेल हो । 

ताजा खबर