चेक रिपब्लिक युरोकपको नक आउट चरण नजिक

२०७८ असार ५ शनिबार ०९:३१:०० मा प्रकाशित

काठमाडौं । चेक रिपब्लिक युरोकपको नक आउट चरण नजिक पुगेको छ । 

समूहको दोस्रो खेलमा चेकले क्रोएशियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । जारी युरोमा क्रोएशियाले पनि अंकको खाता खोल्यो । ग्लास्गोस्थित ह्याप्डेन पार्कमा चेकले सुरुवाती अग्रता जोगाउन नसक्दा एक खेल अगावै अन्तिम १६ मा पुग्ने अवसर गुमायो । ३७ औं मिनेटमा चेकका प्याट्रिक सिकले पेनाल्ट मार्फत गोल गरेका थिए ।

क्रोएशियाका डेजान लोभरेनले सिकलाई फाउल गरेपछि भिडियो रिभ्यु मार्फत पेनाल्टि दिइएको थियो । जारी युरोमा उनको दुइ खेलमा यो तेस्रो गोल हो । सिकले  यसअघि स्कटल्यान्ड विरुद्ध दुइ गोल गरेका थिए । उनी सन् २०१२ मा मारियो मान्डजुकिच पछि युरोकपको सुरुवाती दुइ खेलमा तीन गोल गर्ने पहिलो खेलाडी हुन् । लगत्तै क्रोएशियाका आन्टे रेबिचले खेल बराबरी गर्ने सुनौलो अवसर खेर फाले । उनको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो । तर ४७ औं मिनेटमा इभान पेरिसिचले सुन्दर गोल गर्दै क्रोएशियालाइ लगातार दोस्रो हारबाट जोगाए ।

पेरिसिच चार फरक मुख्य प्रतियोगितामा गोल गर्ने पहिलो क्रोएशियन खेलाडी बनेका छन् । उनले २०१४ र २०१८ को विश्वकप तथा २०१६ को युरोमा पनि गोल गरेका थिए । क्रोएशिया पहिलो खेलमा इङल्यान्डसँग हारेको थियो । क्रोएशियाले २००६ को विश्वकप पछि प्रमुख प्रतियागिताको सुरुवाती दुइ खेलमा जीत हात पार्न नसकेको यो पहिलो पटक हो । चेक दुइ खेलबाट चार अंक जोड्दै समुह डी को शीर्ष स्थानमा छ । क्रोएशियाको एक अंकका साथ तेस्रो स्थानमा छ । 

ताजा खबर