मास्क लाउन आग्रह गर्दा गोली चल्यो, क्यासियरको ज्यान गयो

२०७८ असार ४ शुक्रबार १०:३२:०० मा प्रकाशित

काठमाडौं । शास्त्रमा नै भनिएको छ– ‘जब संसारको कुनै पनि ठाउँमा मानिस भौतिक सुविधाका लागि मरिमेट्छन् र आफूले चाहेको वस्तु उपलव्ध हुननसकेमा सानै कुरामा पनि निहुँ खोजेर झगडा गर्छन् । उस्तै परे एकअर्कामाथि आक्रमण समेत गर्छन् र मारपिट नै गर्छन् । चाहे एउटा व्यक्ति होस् या देश, यो प्रवृत्ति देखिन्छ । यही नै कलियुग हो ।’ 
 
 हालैको घटना हो, यस्तै प्रवृत्तिको घटना भयो जर्जियाको एटलान्टा शहरको डेकाटुरको ग्रोसरी पसलमा । त्यहाँ बियर खरिद गर्न पसेका एकजना युवा ग्राहकलाई मुखमा मास्क लगाउन आग्रह गर्ने एक कर्मचारी गोलीको शिकार भएकी छिन् । यही कारणले उनको ज्यानै गएको छ ।

गएको साता अमेरिकी टेलिभिजन च्यानल सिएनएनले यो समाचार प्रशारण गरेको थियो ।   
 
समाचारमा भनिएको छ– जर्जियाको सुरक्षा अधिकारीले एक ग्रोसरी स्टोरकी क्यासियर आफ्ना ग्राहकलाई कोभिड असरको कुरा सम्झाउँदै मास्क लाउन आग्रह गर्दा गोलीको शिकार भएकी छिन् ।
 
डेक्लाव प्रहरी चौकीका अनुसार, एक बियर ग्रोसरीकी क्यासियर ४१ वर्षकी लकिता विलिस मारिएकी छिन् । ग्राहकलाई मास्क लाउन आग्रह गर्दा भिक्टर लि टुकर नाम गरेका ३० वर्षीय ग्राहकले अटेर गर्दै बाहिर निस्कन लाग्दा क्यासियरलाई गोली हानेका थिए । 

यो समाचारले मानिसको भौतिक सुविधाप्रतिको आसक्ति त दर्शाउँछ नै यसले व्यक्तिको मनस्थितिमा हिंसात्मक प्रवृत्तिको बिजारोपण गर्दै गएको डरलाग्दो संकेत पनि गर्दछ । गरीब होस् या सम्पन्न संसारका जुनसुकै देशमा यस्ता प्रवृत्तिका घटनाहरु भैरहेका देखिन्छन् ।

सायद यही कारण पनि होला यो समयलाई कलियुग भनेर चर्चा गरिएको ।
 

ताजा खबर