१३ वर्षपछि पूरा भएको नेदरल्यान्डसको सपना

२०७८ असार ४ शुक्रबार ०९:२३:०० मा प्रकाशित

काठमाडौं । नेदरल्यान्डस १३ वर्षपछि युरोकपको नक आउट चरण पुगेको छ । समूह सी मा रहेको नेदरल्यान्डसले अस्ट्रिलाई २–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

डच टिमले यसअघि सन् २००८ मा समूह चरण पार गरेको थियो । एम्सटर्डमस्थित योहान क्रम स्टेडियममा नेदरल्यान्डसले ११ औं मिनेटमा माम्फिस डिपायेको पेनाल्टि गोल मार्फत अग्रता लिएको थियो । डिपायेको डच टिमका लागि २७ औं गोल हो । पहिलो हाफमा एक शून्यले अघि रहेको नेदरल्यान्डसले दोस्रो हाफमा अग्रता दोब्बर बनायो । ६७ औं मिनेटमा डेन्जाल डम्फ्रिजले गोल गरेपछि  डच टिम सहज जीतका साथ एक खेल अघिनै नक आउट चरण पुग्न सफल भयो । नेदरल्यान्डसले पहिलो खेलमा युक्रेनलाई ३–२ गोलले हराएको थियो ।

नेदरल्यान्डसले अघिल्ला दुइ ठूला प्रतियोगिता गुमाएको थियो । उसले २०१६ को युरो र २०१८ को विश्वकपको फाइनल चरणमा स्थान बनाउन सकेको थिएन । नेदरल्यान्डस अस्ट्रियासँग खेलेका  पछिल्ला सात खेल यता अपराजित छ । अस्ट्रियाको यो पहिलो हार हो । उसले अघिल्लो खेलमा नर्थ मेसिडोनिया माथि जीत हात पारेको थियो ।

नेदरल्यान्डसले अस्ट्रियालाई हराएसँगै मेसिडोनिया भने प्रतियोगिताबाट बाहिरिएको छ । जारी युरोमा समूह चरणबाट बाहिरिने मेसिडोनिया पहिलो टिम हो । उसको यो पहिलो युरोकप हो । समूहको अन्तिम अस्ट्रियाले युक्रेन र नेदरल्यान्डसले मेसिडोनियासँग खेल्नेछ । 

ताजा खबर