कोपाअमेरिका: घरेलु मैदानमा ब्राजिलको शक्ति प्रदर्शन, पेरुलाई शून्यका विरुध्द चार गोल

२०७८ असार ४ शुक्रबार ०९:१५:०० मा प्रकाशित

काठमाडौं । ब्राजिलले कोपा अमेरिकामा पेरुलाई शून्यका विरुध्द ४ गोल गरेर शानदार जीत हात पारेको छ । साविक विजेता ब्राजिलको जारी कोपामा यो लगातार दोस्रो जीत हो ।

रियो दि जनेरियोमा कोरोना भाइरस महामारी विरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेकाहरुको सम्मान अर्पण गर्दै खेल सुरु भएको थियो । १२ औं मिनेटमै एलेक्स सान्द्रोले घरेलु टोलीका  लागि गोलको खाता खोलेका थिए । ६० औं मिनेटमा नेइमारलाई फाउल गरेपछि ब्राजिललाई रेफ्रिले पेनाल्टि दिएका थिए । तर भिडियो रिभ्यु पछि पेनाल्टी अस्वीकार भयो । नेइमारले ६८ औं मिनेटमा टिमका लागि दोस्रो गोल थपे । राष्ट्रिय टिमबाट नेइमारको पछिल्लो पाँच खेलमा यो पाँचौ गोल हो ।

८९ औं मिनेटमा एभर्टन रिबेरो र इन्जुरी समयमा रिचार्लिसनले गोल गरेपछि ब्राजिल चार शून्यको फराकिलो जीत हात पार्न सफल भयो । दुवै खेलाडी बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए  । ब्राजिलले सन् २०१९ को फाइनलमा पेरुलाइ नै हराएर कोपाको उपाधी जितेको थियो । उसले लगातार दोस्रो खेलमा पेरु माथि जीत हात पारेको हो ।

यसअघि उसले विश्वकप छनोटमा पनि पेरुलाई हराएको थियो । ब्राजिलका प्रशिक्षक टिटेले पेरु विरुद्ध अघिल्लो खेलमा भेनेजुएलालाई तीन शून्य गोलले पराजित गरेको टोलीमा ६ परिवर्तन गरेका थिए । पेको जारी कोपामा यो पहिलो खेल हो । कोपाकै अर्को खेलमा कोलम्बिया भेनेजुएलासँग गोल रहित बराबरीमा रोकियो । समूह ए मा ब्राजिल दुइ खेलबाट ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा छ । 

ताजा खबर