नेपालको कोरोना संकटमा सहयोग गर्न बेलायती अभिनेताले थाले अनौठो अभियान

२०७८ असार ४ शुक्रबार ०८:४७:०० मा प्रकाशित

लण्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् । 

‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारदेखि थालनी गरेका अभियानमा हालसम्म पाँच हजार पाउण्डभन्दा बढी रकम उठिसकेको छ । २४ घण्टा चुप लागेर बस्दा राम्रै अनुभूति भए पनि आफ्ना समर्थकहरूसँग बोल्न नपाएकामा अब बोल्न पाइएको बताए।

बेलायतको सरे शहरमा रहेको आफ्नो घरमा मौन समय बिताएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । जस्ट गिभिङ नामक परोपकारी वेबसाइटमार्फत रकम सङ्कलन गरेका ब्रायनले नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको र तीनपटकसम्म सगरमाथा चढ्न गरेको प्रयासको त्यो क्षण सम्झनलायक रहेको बताए। फ्यज नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निकटताको सम्बन्ध बढ्दै गएको बताउने ब्रायनले नेपाललाई परेको यो सङ्कटमा सबैले साथ दिन अनुरोध गरेका छन् ।

उनको अभियानबाट जुन महिनाको २५ तारिखसम्म जति रकम सङ्कलन हुन्छ त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिने हुँदा यो रकमले यो सङ्कटमा केही भए पनि सहयोग पुग्ने उनको धारणा छ । यसरी उठेको रकम आफू संरक्षक रहेको फ्यज संस्थामार्फत प्रदान गरिने बताएका छन् ।

ताजा खबर