रियाल मड्रिडलाई गुन लगाएर विदा भए रामोस !

२०७८ असार ३ बिहीबार २१:२२:०० मा प्रकाशित

काठमाडौं । सर्जियो रामोसले १६ वर्षपछि स्पेनिस क्लब रियाल मड्रिड छोडेका छन् । रियाल मड्रिडले आज एक विषेश कार्यक्रम गर्दै रामोसलाई विदाइ गरेको थियो । कार्यक्रममा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज, बोर्ड सदस्य लगायतको उपस्थिति थियो ।

अध्यक्ष पेरेजले रोमास धेरै वर्षसम्म पनि रियाल मड्रिडका समर्थकका लागि रोल मोडल रहने बताए । रामोसलाई क्लबको लेजेन्ड खेलाडी भएको भन्दै यति लामो समय पुर्याएको योगदानका लागि धन्यबाद दिए । रामोस  आफ्ना भनाइ राख्ने समयमा निकै भावुक बनेका थिए । रामोसले भने– धन्यवाद रियाल मड्रिड । रियाल सदैव आफ्नो मनमा रहने भन्दै उनले एउटा युनिक र अद्भुत च्याप्टरको अन्त्य भएको भनाइ राखे ।

रामोस सन् २००५ मा सेभियाबाट २७ मिलियन युरोमा रियाल आएका थिए । त्यसवेला स्पेनिस डिफेन्डरले प्राप्त गरेको त्यो सबैभन्दा आकर्षक रकम थियो । उनले २०१५ मा इकर क्यासियासले छोडेपछि क्लबको कप्तानी सम्हालेका थिए । 

यसबीचमा रामोसले कुल २२ उपाधी रियाललाई दिलाए । जसमा ५ ला लिगा, ४ च्याम्पियन्स लिग, दुइ कोपा डेल रे, चार स्पेनिस सुपर कप, तीन युइएफए सुपर कप र चार फिफा क्लब विश्वकप उपाधी छन् । उनले रियालबाट ६ सय ७१  खेल खेल्दै १ सय १ गोल गरेका थिए । स्पेनका लागि १ सय ८० क्याप जितेका रामोसले २००८ र २०१२ मा युरो तथा २०१० मा विश्वकप जितेका  थिए । रामोसले क्लब छोडेपछि समर्थकहरुले एक युगको अन्त्य भएको प्रतिृकया दिएका छन् ।

ताजा खबर