युरोकप: लोकाटेलीको जोर गोलले इटाली नकआउट चरणमा

२०७८ असार ३ बिहीबार ०९:३३:०० मा प्रकाशित

काठमाडौं । इटाली जारी युरोकपको नक आउट चरण पुग्ने पहिलो टिम बनेको छ । इटालीले आफ्नो दोस्रो खेलमा स्विटजरल्यान्ड विरुध्द ३ गोल निल दिएर सहज जीत हात पार्दै समूह एबाट अन्तिम १६ मा प्रवेश गरेको   हो । अघिल्लो खेलमा इटालीले टर्कीलाई तीन शून्य गोलले नै हराएको थियो । 

रोमस्थित स्टाडियो ओलम्पिकोमा भएको खेलमा इटालीले २६ औं मिनेटमा म्यानुएल लोकाटेलीको गोल मार्फत अग्रता लिएको थियो । उनले  डोमिनिको बेरार्दीको सहयोेगमा गोल गरेका हुन् । उत्कृष्ट देखिएको इटालीले दोस्रो हाफमा थप दुइ गोल थप्यो । ५२ औं मिनेटमा लोकाटेलीले फेरी गोल गरेपछि इटाली वलियो स्थितिमा पुगेको थियो ।

ब्यावसायिक करियरमा लोकाटेलीले पहिलो पटक एकै खेलमा दुइ गोल गरेका हुन् । ८९ औं मिनेटमा चिरो इम्बोबिलेको गोल पछि इटालीले ३–० को सहज जीत हात पार्दै एक खेल अगावै नक आउट चरणमा स्थान सुरक्षित गर्यो । रोबर्टो मान्सिनीको टोली विरुद्ध स्विस टिमले कुनै पनि समय डरलाग्दो आक्रमण गरेन ।

यसअघि इटालीले केवल दुइ पटक सन् २००० र २०१६ मा युरोको समूह चरणमा लगातार दुइ खेल जितेको थियो । युरो सुरु हुनु अघिसम्म इटाली उपाधीको दावेदार टिमका रुपमा थिएन । तर उसले समूहका दुइ खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । इटाली पछिल्ला २९ खेल यता अपराजित । उसले पछिल्लो पटक २०१८ मा पोर्चुगल संग हार बेहोरेको थियो । इटालीले दश खेल यता गोल खाएको छैन । एक हजार मिनेट क्लिन सिट राख्न सफल इटालीले ३१ गोल गरेको छ । 

समूहको अन्तिम खेलमा इटालीले आइतबार वेल्ससँग खेल्नेछ । यो हारले स्विटजरल्यान्डको नक आउट यात्रा कठिन बनेको छ । स्विटजरल्यान्डले अन्तिम खेलमा टर्कीसँग खेल्नेछ । 

ताजा खबर