नेपाली खेलाडी पलेशा जापानमा पारातेक्वान्दो भिड्दै

२०७८ असार २ बुधबार २१:२७:०० मा प्रकाशित

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिक गेम्समा सहभागिता जनाउने भएकी छिन् । नेपाल तेक्वान्दो संघले बुधबार बिज्ञप्ती जारी गर्दै पलेशाले वाईल्डकार्ड मार्फत टोकियो पारा ओलम्पिक खेल्ने अवसर पपाएको जानकारी दिएको हो ।

जापानको टोकियोमा २०७८ भाद्र १७ देखि १९ गते सम्म आयोजना हुने पारा ओलम्पिकमा गोवर्धनले के ४४, ५८ केजी मुनिको प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । नेपाली पारातेक्वान्दो खेलाडीहरुले  २०७८ जेष्ठ ७ गते जोर्डनको अम्मान शहरमा छनौट प्रतियोगिता खेल्नु पर्नेमा कोरोना महामारीका कारण अन्तराष्टिय हवाई उडान बन्द हुनुका साथै उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्न बिदेशी खेलाडीहरुले तेश्रो मुलुकमा कम्तिमा २ हप्ता आईसोलेशनमा बस्नु पर्ने बाध्यताका कारण छनौट प्रतियोगिताबाट बञ्चित हुनु परेको थियो ।

छनौट प्रतियोगिताका लागि पलेशा लगायत ६ खेलाडीहरुलाई संघले चयन गरेको थियो । तसर्थ उक्त छनोट खेलबाट बञ्चित भए पश्चात नेपाल तेक्वान्दो सघले पलेशा र रञ्जना धामी को नाम राष्ट्रिय पारालम्पिक कमिटिको समन्वयमा वाईल्ड कार्डको लागि पहल गरेको थियो ।

विश्व तेक्वान्दो महासंघ एवं अन्तराष्ट्रिय पाराओलम्पिक कमिटिबाट नेपाललाई एउटा कोटा दिने व्यवस्था भएकोले नेपली पारा राष्ट्रिय खेलाडी पलेशा गोबर्धनले अवसर पाएकी हुन् । पलेशाले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ साल देखि नियमित तालिम तथा प्रशिक्षण लिई रहेकी छिन् । पलेशाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलो पकट के।४४, ५८ केजी माथि तेश्रो स्थान प्राप्त गर्न सफल भई मुलुकलाई कास्य पदक दिलाएकी थिईन् ।

ताजा खबर