युरो कप: यसरी जिल्लियो जर्मनी

२०७८ असार २ बुधबार १०:१०:०० मा प्रकाशित

काठमाडौं । बलियो टिम रहेको जर्मनी युरोकपको पहिलो खेलमा जिल्लिएको छ । उसलाई प्रतिद्वन्दी फ्रान्सले शून्यमा रोकेर एक गोलले पराजित गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा समुह चरणको हेभीवेट मानिएको खेलमा फ्रान्सले जर्मनीलाइ १–० गोलले पराजित गरेको हो ।

फ्रान्सले खेलाडीले पोष्टमा प्रहार गरेको गोल जोगाउन खोज्दा जर्मनीका खेलाडीबाट आफ्नै पोष्टमा गोल भएपछि त्यो आत्मघाती गोलको कारण फ्रान्स जित्न सफल भएको हो । घरेलु मैदान म्युनिखमा जर्मनीले राम्रो सुरुवात गरेको थियो । तर २० औं मिनेटमा जर्मनीका म्याट हमेल्सले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स एक शून्यले अघि बढ्न पायो । उनले लुकास हर्नान्डेजको क्रसलाई क्लियर गर्न खोजेका थिए ।

करिब तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका हमेल्सको युरोको पहिलो खेल निराशाजनक बन्यो । उनी युरोमा आत्मघाती गोल गर्ने पहिलो जर्मन खेलाडी हुन् । लगत्तै जर्मनीले खेल बराबरी गर्ने अवसर पाएको थियो । तर थोमस मुल्लरको प्रहारले पोस्टको दिशा लिन सकेन् । मुल्लरले पनि झन्डै तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । ६६ औं मिनेटमा किलियन एम्बाप्पे र ८५ औं मिनेटमा करिम बेन्जिमाको गोलले मान्यता नपाएपछि फ्रान्स गोल थप्ने अवसरबाट चुक्यो । फ्रान्सका लागि पल पोग्बाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यो जीतपछि समूह एफमा रहेको फ्रान्सले कठिन प्रतिद्धन्दी विरुद्ध तीन अंक जोडेको छ । सन् २०१८ को रुस विश्वकप च्याम्पियन फ्रान्स पछिल्ला १७ प्रतिस्पर्धात्मक खेलमा अपराजित छ । फ्रान्सले जर्मनी विरुद्ध खेलेका पछिल्ला ६ खेलमा हार बेहोरेको छैन । जर्मनी ले २७ खेलमा गोल गर्न नसकेको यो दोस्रो खेल हो ।                                                                

खेलपछि जर्मनीका प्रशिक्षक योचिम लोले भने– यो एकदमै प्रतिस्पर्धात्मक खेल थियो । हामीले खेलको अन्त्यसम्म पनि प्रयास गर्यौ । म मेरा खेलाडीलाइ दोष दिन्न । उनीहरुले सक्दो प्रयास गरे ।

फ्रान्सका प्रशिक्षक डिडिए डेंस्सोले भने– हामीले वलियो विपक्षी विरुद्ध राम्रो खेल खेल्यौं । दोस्रो गोल गर्नबाट हामी धेरै टाढा थिएनांै । तर दोस्रो हाफमा हामीले धेरै नोक्सान सहन गर्नु परेन । क्वालिटी र ट्यालेन्टले भरिएको यो एक उत्कृष्ट खेल थियो । 

 

ताजा खबर