फुटबल स्टार रोनाल्डोले कीर्तिमान बनाई छाडे, लगातार पाँच युरोकप खेल्ने उनी एक्ला खेलाडी

२०७८ असार २ बुधबार ०९:५०:०० मा प्रकाशित

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाई छाडे । युरोकप अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई शून्यका विरुध्द तीन गोलले पराजित गर्दा रोनाल्डो एक्लैले दुइ गोल गरेका थिए । 

रोनाल्डोले हंगेरी विरुद्ध ८७ औं मिनेटमा पेनाल्टिमा एक र इन्जुरी समयमा अर्को गरी दुइ गोल गरेका थिए । योसँगै युरोकपमा रोनाल्डोको गोल संख्या ११ पुगेको छ ।

यसअघि फ्रान्सका लेजेन्ड मिचेल प्लाटिनीले युरोकपमा नौ गोल गरेका थिए । प्लाटिनीले नौ गोल सन् १९८४ को युरोकपमा पाँच खेलमा नौ गरेका थिए । ३६ वर्षिय रोनाल्डोको  राष्ट्रिय टिमका लागि यो १ सय ६ गोल हो । उनले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउन पाएका छैनन् । त्यसका लागि अब मात्र ४ गोल अपुग छ । यो कीर्तिमान १ सय ९ गोल सहित इरानका अलि डेइको नाममा छ । २०१६ मा पोर्चुगललाई युरोकप उपाधी दिलाएका रोनाल्डोले पहिलो हाफमै गोलको अवसर गुमाएका थिए ।

जारी युरोको पहिलो खेलमै रोनाल्डोले अरुपनि कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनी पाँच युरोकप खेल्ने एक्ला खेलाडी हुन्् । उनले २००४ को युरोकपमा डेब्यु गरेका थिए । यस्तै लगातार पाँच युरोमा गोल गर्ने पनि अहिलेसम्म रोनाल्डो एक्ला खेलाडी हुन् ।

खेलपछि रोनाल्डोले सवैभन्दा महत्वपूर्ण कुरा त खेल जित्नु नै भएको प्रतिकृया दिएका छन् । राम्रो  डिफेन्सको नमुना प्रदर्शन गरेको हंगेरी विरुद्धको खेल कठिन भएको उनको भनाइ थियो । तर अन्त्यतिर तीन गोल गर्दै खेल जित्न सफल भएकोमा रोनाल्डोले खुशी ब्यक्त गरे । टिमले आफुलाई दुइ गोल गर्न सहयोग गरेकोमा आभार ब्यक्त गरे । हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा ५५ हजार दर्शक अघि रोनाल्डोले आफ्नो सफलताको खुशीयाली मनाए । 

ताजा खबर