स्लोभाकियासँग पोल्याण्डको जोर चलेन

२०७८ असार १ मंगलबार ०९:५६:०० मा प्रकाशित

काठमाडौं । रोवर्ट लेवान्डोस्कीको टोली पोल्यान्ड युरोकपको आफ्नो पहिलो खेलमा पराजित भएको छ । स्लोभाकियाले पोल्यान्डलाई दुइ एक गोलले स्तब्ध पारेको हो । यो हारले  समूह इ मा रहेको पोल्यान्डको नक आउट चरण पुग्ने यात्रा कठिन हुने भएको छ ।

सेन्ट पिटर्सबगमा भएको खेलमा स्लोभाकियाले आत्मघाती गोल मार्फत अग्रता लिएको थियो । १८ औं मिनेटमा पोलिस गोलकिपर वैचेक स्टेन्सीसँग वल ठोक्किदै गोलमा परिणत भएको थियो । उनले रोबर्ट म्याकले प्रहार गरेको सट बचाउने प्रयास गर्दा गोल हुन पुगेको हो । ४६ औं मिनेटमा कारोल लिनेत्तेले सुन्दर गोल  गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए । तर ६२ औं मिनेटमा पोल्यान्डलाइ अर्को झड्का लाग्यो जब गेजेगोस क्रुकोभियाक दोहोरो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

त्यसपछि दवावमा आएको पोल्यान्डले लय समाउन सकेन । पोल्यान्ड दश खेलाडीमा समेटिएको फाइदा उठाउँदै ६९ औं मिनेटमा मिलान स्क्रििनियारले गोल गरेपछि  स्लोभाकियाले महत्वपूर्ण तीन अंक बटुल्यो । स्लोभाकिया हाल फिफा वरियताको ३६ औं स्थानमा छ । स्टार स्ट्राइकर लेवान्डोस्कीले आफ्नो जादु देखाउन सकेनन् । उनले सन २०२०–२१ को सिजनमा जर्मन लिग बायर्न म्युनिखका लागि ४८ गोल गरेका थिए । तर स्लोभाकियाको उत्कृष्ट डिफेन्स सामु उनी निरीह देखिए । पोल्यान्डले पछिल्ला १८ अन्तर्राष्ट्रिय खेलमा मात्र एकमात्र जीत हात पारेको छ ।

ताजा खबर