कोपा अमेरिका: चिलिसँग बराबरी भएपछि मेसीले भने- 'ब्राजिलको पीच कमसल रहेछ'

२०७८ असार १ मंगलबार ०९:४४:०० मा प्रकाशित

काठमाडौं । लियोनल मेसीको अर्जेन्टिना कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा चिलीसँग एक एक गोलको बराबरीमा रोकिएको छ । मेसीले आफ्नो ट्रेडमार्क फ्रि किक मार्फत गोल गरेपनि टिमलाई जीत दिलाउन भने सकेनन् ।
 
ब्राजिलको रियो द जनेरियोस्थित ओलम्पिक स्टेडियममा आज विहान भएको खेल अर्जेन्टाइन लेजेन्ड डिएगो म्याराडोनाप्रति श्रदाञ्जली दिँदै सुरु भएको थियो । ३३ औं मिनेटमा मेसीले फ्रि किक मार्फत सुन्दर गोल गरेपछि अर्जेन्टिनाले खेलमा एक शून्यको अग्रता लिएको थियो । मेसीको राष्ट्रिय टिमबाट यो ७३ औं गोल हो ।

चोटका कारण ऐलिक्सस सान्चेज विना मैदान उत्रिएको चिलीले दोस्रो हाफमा खेल बराबरी गर्यो । ५७ औं मिनेटमा एडुवार्डो भर्गासले गोल गरेका थिए । अर्टुरो भिडाललाई फाउल गरेपछि चिलीले भिडियो रिभ्यु मार्फत पेनाल्टि पाएको थियो । भिडालले प्रहार गरेको पेनाल्टि अर्जेन्टिाइन गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि क्रसबारमा लाग्दै फर्किएको थियो । भर्गासले सोही वललाई गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाले गोल थप्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

अर्जेन्टिनाको यो लगातार तेस्रो बराबरी हो । यसअघि विश्वकप छनोटमा अर्जेन्टिनाले चिलीसँगै एक एक गोलको बराबरी खेलेको थियो । कोलम्बियासँग दुइ दुइ गोलको बराबरीमा रोकियो । प्रशिक्षक लियोन स्केलोनीको नेतृत्वमा अर्जन्टिना पछिल्ला १४ खेल यता अपराजित छ ।

खेलपछि अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले गोलका चार ५ अवसरको सदुपयोग गर्न नसकेको प्रतिक्रिया दिए । मौका सिर्जना गरे अनुसार आफ्नो टिमले ४–५ गोलले जित्नुपर्ने बताए ।

कप्तान मेसी र प्रशिक्षक स्केलोनीले भने ब्राजिलको पिचको आलोचना गरेका छन् । यो मैदानमा २०१६ को रियो ओलम्पिकमा ट्रयाक एन्ड फिल्ड संचालन गरिएको थियो । मेसीले भने– हामीले खेलमा अग्रता लिएपछि वल आफ्नो पक्षमा राख्न सकैनौं । पिचले पनि हामीलाई साथ दिएन । पेनाल्टिबारे मलाई थाहा छैन मैले हेरिन । तर त्यहि पेनाल्टले खेल परिवर्तन गर्यो ।

खेलको म्यान अफ दि म्याच भएकोमा पनि मेसी त्यति खुसी देखिएनन् । उनले भने, आज हामी जित्न चाहन्थ्यौ । कोपाको पहिलो खेल जित्नु महत्वपूर्ण पनि थियो । हामीले कठिन प्रतिद्धन्दी विरुद्ध खेलिरहेका थियौं । अब उरुग्वेसँग खेल्दैछौ, यो पनि हाम्रा लागि सहज हुने छैन । अब उरुग्वेसँगको खेलमा केन्द्रित हुनेछौं ।

प्रशिक्षक स्केलोनीले यहि पिचमा अझै खेल खेल्नु पर्ने हँुदा आयोजकले जवाफ दिनुपर्ने प्रतिकृया दिएका छन् ।

चिलीका भिडालले भने अर्जेन्टिनासँग अंक खोस्न सफल भएकोमा संतुष्टि ब्यक्त गरे । मेसीको शानदार प्रदर्शनका बाबजुत बराबरीको नतिजा राम्रो भएको उल्लेख गरे । मेसीले जहिले पनि खेल्ने फरमेसन परिवर्तनत गरिदिने भन्दै भिडालले भने भगवानलाई धन्यबाद हामी बराबरी खेल्न सफल भयौ ।

कोपाको आजै भएको अर्को खेलमा पाराग्वेले दश खेलाडीमा समेटिएको बोलिभियालाई ३–१ गोलले पराजित गर्यो । 

ताजा खबर