फ्रेन्च ओपन टेनिसको उपाधी जोकोभिचको हातमा 

२०७८ जेठ ३१ सोमबार १०:३४:०० मा प्रकाशित

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधी जितेपछि हरेक कुरा संभव भएको प्रतिक्रिया दिएका छन् । सन् २०२१ मा गोल्डेन ग्रान्डस्लामको लक्ष्य राखेका सर्वियाका जोकोभिचले फ्रेन्च ओपन फाइनलमा ग्रिसका स्टेफानोज चिचिपासलाई पाँच सेटमा पराजित गरेका हुन् । 

कडा संघर्ष भएको फाइनलमा ३४ वर्षिय जोकोभिच दुइ शून्य सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । पाँचौ वरियताका चिचिपासले पहिलो सेट टाइब्रेकरमा ७–६ (८–६) ले जितेका थिए । यो सेट १ घन्टा १२ मिनेटसम्म चल्यो । दोस्रो सेट उनले केवल ३५ मिनेटमा ६–२ ले आफ्नो पक्षमा पारे । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको तेस्रो सेट जोकोभिचको नाममा गयो । ५३ मिनेटको संघर्षपछि यो सेट जोकोभिचले ६–३ ले जित्दै खेलमा पुनरागमन गरे ।

चौथो सेट सजिलै ६–२ ले जितेपछि उनले चिचिपाससँग बराबरी गरे । पाँचौ तथा निर्णायक सेट ६–४ ले जितेपछि जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपन उपाधी जिते । खेल ४ घन्टा ११ मिनेट सम्म चल्यो । यसअघि सन् २०१६ मा जोकोभिच च्याम्पियन बनेका थिए ।

ओपन एरामा चारवटै ग्रान्डस्लाम दुइ पटक जित्ने जोकोभिच पहिलो खेलाडी बनेका छन् । समग्रमा उनको यो १९ औं ग्रान्डस्लाम हो । उनी भन्दा अडि स्वीस खेलाडी रोजर फेडरर र स्पेनिस रफायल नाडाल छन् । दुवैले समान २०–२० ग्रान्डस्लाम जितेका छन् । जोकोभिचले पछिल्लो ४८ घन्टामा उत्कृष्ट खेलको नमुना पेश गरे । सेमीफाइनलमा उनले १३ पटकका फ्रेन्च ओपन विजेता  नाडाललाई चार सेटमा हराएका थिए । जोकोभिचले यो ४८ घन्टा आफ्नो करियरको विषेश समय रहेको बताए । धेरै मानिसले असंभव सोचेको सफलता आफुले हात पारेको भन्दै उनले मेहनत गरे जे पनि संभव हुने भनाइ राखे । उनले यहि वर्ष अस्ट्रेलियन ओपनको उपाधी पनि जितेका थिए ।

अब उनको लक्ष्य २९ जुनबाट सुरु हुने विम्बल्डनमा छ । विम्बल्डनका उनी साविक विजेता हुन् । यो वर्ष ओलम्पिकमा स्वर्ण जित्ने र युएस ओपनको पनि उपाधी जितेर गोल्डेन ग्रान्डस्लाम पुरा गर्ने सपना जोकोभिचको छ ।

यता  २२ वर्षिय चिचिपास भने करियरको पहिलो ग्रान्डस्लाम जित्नबाट चुके । उनी ग्रान्डस्लामको फाइनल पुग्ने पहिलो ग्रिक खेलाडी पनि हुन् । 

ताजा खबर