कोपा अमेरिकको उद्घाटन खेल ब्राजिलको नाममा> निराश भयो भेनेजुएला

२०७८ जेठ ३१ सोमबार ०९:१८:०० मा प्रकाशित

काठमाडौं । कोपा अमेरिकाको उद्घाटन खेलमा घरेलु टोली  ब्राजिलले भेनेजुएला माथि ३–० गोलको जीत हात पारेको छ ।  

साविक विजेता ब्राजिलका लागि  नेइमारले एक गोल गर्नुका साथै एक एसिस्ट गरेका थिए । खेल सुरु भएको २३ आंै मिनेटमै अग्रता लिएको थियो । पेरिस सेन्ट जर्मेन पिएसजीका डिफेन्डर मार्किन्होजले गोलको खाता  खोले । भेनेजुएलाले क्लियर गर्न नसकेको कर्नरमा गोल गरेका थिए । 

पहिलो हाफमा रिचार्लिसनले गरेको गोल अफसाइड भयो भने नेइमारले सुनौलो मौका गुमाएका थिए । तर दोस्रो हाफमा ब्राजिल दुइ गोल थप्न सफल भयो । एक शून्यले अघि रहेको ब्राजिलले दोस्रो हाफमा दुइ गोल थप्यो । ६४ औं मिनेटमा नेइमारले पेनाल्टीमा गोल गरे । डेनिलोलाई भेनेजुएलाका योहान कुमानाले फाउल गरेपछि ब्राजिलले पेनाल्टि पाएको थियो । जसलाई नेइमारले सहजै गोलमा परिणत गरे । उनको राष्ट्रिय टिमका लागि ६७ औं गोल हो । उनी पेलेको कीर्तिमान बराबरी गर्नबाट  मात्र १० गोलले टाढा छन् ।

८९ औं मिनेटमा गाब्रिएल बारबोसाले नेइमारको पासमा गोल गरेपछि टिटेको टोली ब्राजिलले कोरोना प्रभावित भेनेजुएला माथि तीन शून्यको सहज जीत हात पार्यो । खेल सुरु हुनु एक दिन अघि भेनेजुएलाका खेलाडी र पदाधिकारी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ब्राजिलले सन् २०१९ मा १२ वर्षपछि पहिलो कोपा अमेरिका जितेको थियो । यस पटक ब्राजिल उपाधीको प्रमुख दावेदार टिम हो । दक्षिण अमेरिकी क्षेत्रको सवैभन्दा ठूलो प्रतियोगिता कोपा कोभिड १९ का कारण एक वर्ष ढिलो भएको हो । विश्व फुटवलको सवैभन्दा पुरानो प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ ।

आजै भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई एक शून्य गोलले पराजित गर्यो । कोलम्बियाको जीतमा ४२ औं मिनेटमा एडविन कार्डोनाले निर्णायक गोल गरेका थिए । 

ताजा खबर